दोस्रो पटक सांसदहरुको प्रश्नको घेरामा उभिँदै प्रधानमन्त्री बालेन
खगेन्द्र कार्की
१० भदौ २०८३, बुधबार १०:२० मा प्रकाशित
435
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गते हुने प्रश्नोत्तरका लागि ११ सांसदले प्रश्न दर्ता गराएका छन्। प्रतिनिधि सभामा १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने व्यवस्था भए पनि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आफ्नो कोटाअनुसार प्रश्न दर्ता गराएनन्।
रास्वपाले सातवटा प्रश्न दर्ता गर्न पाउने भए पनि तीनवटा मात्रै प्रश्न दर्ता गरेको छ। अन्य दलले भने आफ्नो भागमा परेको कोटाअनुसार प्रश्न दर्ता गरेका छन्।
संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङले प्रश्न दर्ता गरेका छन्।
यस्तै, नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराएका छन्। श्रम संस्कृति पार्टीबाट हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खुश्बु ओलीले प्रश्न दर्ता गरेका छन्।
सभामुख डोलप्रसाद अर्यालले भदौ १० गतेको प्रश्नोत्तरका लागि भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए। तोकिएको अवधिमा ११ वटा प्रश्न दर्ता भएका हुन्।
सभामुखको रुलिङअनुसार सबै दलबाट कम्तीमा एक–एक प्रश्नको प्रतिनिधित्व सुनिश्चित गरिएको थियो। त्यसअनुसार छ दलबाट छवटा प्रश्न र बाँकी नौवटा प्रश्न प्रतिनिधि सभामा रहेको दलीय प्रतिनिधित्वका आधारमा बाँडफाँट गरिएको थियो।
संसद् सचिवालयले रास्वपालाई सात, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपालाई दुई–दुई तथा श्रम संस्कृति पार्टी र राप्रपालाई एक–एक प्रश्न दर्ता गर्ने कोटा तोकेको थियो।
प्रधानमन्त्री शाहले दर्ता भएका प्रश्नको औपचारिक जवाफ भदौ १० गतेको प्रतिनिधि सभा बैठकमा दिने संसद् सचिवालयले जनाएको छ।
यसअघिका प्रश्नोत्तर कार्यक्रममा निर्धारित १५ वटाभन्दा बढी प्रश्न दर्ता हुने गरेका थिए। २०७५ माघ ४ गते पहिलोपटक भएको प्रश्नोत्तर कार्यक्रममा दर्ता भएका १८ वटै प्रश्नको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए।