कोशी प्रदेश प्रहरी प्रमुखमा कार्कीद्वारा पदभार ग्रहण

खगेन्द्र कार्की


विराटनगर/ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले कार्यालयमा पदभार ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालयको यही बैशाख २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई आइतबार पदभार ग्रहण गरेका हुन ।

उनलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।  प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो भने उनले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै परिसरमा रहेको पलान्चोक भगवती मन्दिरमा विधिवतरूपमा पूजा अर्चना सहित बृक्षारोपण समेत गरेका छन् ।  पदभार ग्रहण पश्चात् उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम् तथा रचनात्मक कार्यका बारेमा जानकारी गराएका थिए ।

यसैबीच, कोशी प्रदेश प्रहरी प्रमुख कार्कीले पदभार ग्रहण पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिएका छन् ।

प्रहरीले आ–आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई सामना गर्दै एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवकको रूपमा खटिनु पर्ने निर्देशन दिए । ।

खगेन्द्र कार्की
प्रतिक्रिया