झापा । दुई वर्षअघि झापामा महामारीकै रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण पछिल्लो समय फेरि जिल्लामा व्यापक बन्दै गएको छ । लम्पी स्किनको संक्रमण जिल्लाभर फैलिइसकेको छ भने ६ हजार ३९ वटा पशुमा संक्रमण देखिएको छ । हालसम्म झापामा मात्रै यस रोगका कारण ५४ वटा पशुको मृत्यु भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाका अनुसार जिल्लामा सबैभन्दा धेरै मेचीनगर र बाह्रदशीमा संक्रमण देखिएको छ भने अन्य पालिकाको तुलनामा दमकमा संक्रमणको अवस्था कमजोर छ ।
पशु सेवा विज्ञ केन्द्र झापाकी कार्यालय प्रमुख शीतल भट्टराई पहिलेजस्तो महामारीकै रूपमा जिल्लामा लम्पी स्किन नफैलिए पनि संक्रमण बढ्दै गएको बताउँछिन् । उनका अनुसार लम्पी स्किनको संक्रमण बढेसँगै भ्याक्सिन लगाउने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ ।
‘हालसम्म झापाका लागि ७२ हजार ५ सय भ्याक्सिन उपलब्ध भएको छ । जसमा पालिकासँग समन्वय गरेर ३१ हजार ६ सय १८ भ्याक्सिन लगाइसक्यौं,’ उनले भनिन्, ‘यसबाहेक गम्भीर संक्रमण देखिएका पशुहरूलाई औषधि पनि वितरण गरिरहेका छौं । संक्रमण नदेखिएका स्वस्थ पशुमा भने भ्याक्सिन लगाउने कार्यलाई प्राथमिकतामा राखेका छौं । जिल्लामा भ्याक्सिन पर्याप्त छ ।’
दुई वर्षअघि २०७९÷८० को असार–साउन अर्थात यही अवधिमा झापामा लम्पी स्किन रोगले महामारीकै स्वरूप लिएको थियो । त्यसबेला ३५ हजार एक सयभन्दा धेरै गाईभैंसीमा लम्पी स्किन संक्रमण देखिएको थियो भने ४ हजार ६ सय ८५ पशुको मृत्यु भएको तथ्यांक छ ।
त्यसपछि २०८०÷८१ मा यो रोग त्यति देखिएन । अहिले भने क्रमशः लम्पी स्किनको संक्रमण दर बढ्दै गएको तथ्यांकले नै जनाउँछ । अधिकांश खोप नलगाइएका गाईभैंसीमा यो रोग देखिएको पशु स्वास्थ्य अधिकारीहरू बताउँछन् । ‘यसअघि भ्याक्सिन लगाउन छुटेका, नयाँ जन्मिएका, बाहिरबाट ल्याइएका जस्ता गाईभैंसीमा संक्रमण देखिइरहेको छ । खोप लगाइसकेको पशुमा देखिएको छैन,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाकी प्रमुख भट्टराई भन्छिन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो