प्रतिशोधको राजनीतिले देशमा अर्को आन्दोलन चर्काउनेतर्फ उन्मुख

खगेन्द्र कार्की

पछिल्लो समयमा सत्तापक्ष कठोर बन्न थालेको छ । देशलाई अराजकतातिर धकेल्ने दिशातर्फ सत्तापक्ष अगाडि बढेको छ । हिजोका दिनमा केपी ओलीप्रति तानाशाही प्रवृत्ति देखाएको भन्ने आरोप यतिखेर पुष्टि हुँदै गएको टिकाटिप्पणी पनि गरिँदैछ । लोकतान्त्रिक गणतन्त्रमा विरोध र आलोचना गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्दै सत्तापक्षबाट वाक स्वतन्त्रतामाथि बलात्कार भइरहेको छ ।  


एकाएक हठात् रुपमा विश्वमै कहि नभएको अभ्यास गरेर देशका ठूला दलहरु मिलेर सत्तामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सुरुबाटै विवादमुक्त भने छैन । विवादै विवादका बीचमा दुई तिहाईको दम्भ र अहंकार देखाएर संविधान संशोधनदेखि बेकसुर मान्छेहरुलाई कसुरदार बनाएर फसाउने रणनीति बनाउन सरकार लम्पसार परेको छ । लोकतान्त्रिक आचरण र शैली पटक्कै देखिएको छैन । कसैलाई कसैप्रति विश्वास पनि छैन । अविश्वासै अविश्वासको खाडलबाट राज्यको ढिण्कुटी रित्याइरहेका छन् । सरकारकै सहयात्री दलबीच एक एकआपसमा विश्वास देखिँदैन । उनीहरु एकआपसमै अविश्वासका क्रियाप्रतिक्रिया दिँदै हिंडिरहेका छन् । त्यसमाथि प्रतिपक्षसँगको अविश्वासको दुरी झन्झन् बढ्दै गईरहेको छ । संसदभित्र संख्यात्मक रुपबाट हेरेर हेपाहा प्रवृत्ति प्रतिपक्षमाथि देखाएको पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाईरहेकै छन् । कसैलाई कसैप्रति विश्वास नभएका नेताहरुको झुण्ड यतिखेर संसद् र सरकारमा छ । बेकसुर कोही देखिँदैनन् । कुनै न कुनै काण्ड बोकेरै भए पनि सत्ताको खिल्ली उडाउँदै कुर्सीमा लम्पसार परेकै छैन । एकले अर्काप्रति विश्वास गर्नै नसकेको अवस्थामा केपी ओलीले विरोधीप्रति गरेको जहानियाँ शैलीले अझै दुरीमात्र बढाएको छैन यसको प्रतिरोधमा आन्दोलन चर्किने खतरा बढेर गएको देखिन्छ ।

जनताका समस्या उजागर गर्ने संसदभित्र केपी ओली प्रधानमन्त्री भएदेखि राजनीतिक परेडस्थल बनाइएको छ । कसले कसलाई सिध्याउने भन्ने ध्याउन्नमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरु जुहारीमा जुटेरै संसदको अन्त्य गराएका छन् । आर्थिक रुपबाट जनताको स्तर खस्किएको, जनजीविका चलाउनै कठिन भईरहेको बेलामा चाडपर्व भित्रिसकेको छ । चाडपर्वको मुखमा जनताको चुल्होचौकामा आगो कसरी बाल्ने र सहज, सुलभ ढंगबाट दशैं मनाउने वातावरण मिलाईदिने भन्ने सोचको खडेरी परेको छ ।

सहकारी छानविन विशेष समितिले बुझाएको प्रतिवेदनले कारवाहीका लागि सिफारिस गरेका, युट्युव र फेसबुकमा बोलेर सरकार, नेतालाई विरोध गरेका मान्छेहरु भटाभट पक्रदै जेल पठाउँदै गरिरहेका छ । यसले अब देश नयाँ मोडतिर गईसकेको छ । राप्रपालगायतका साना दलहरुले समेत सरकारको कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । औंला ठड्याईरहेकै छन । रमेश लेखकले संसद् बैठकमा माओवादीलाई भने झै विरोध गर्नेहरु एक ठाउँमा भईदिए भने के होला ? यसतर्फ गम्भिर हुन जरुरी देखिन्छ । सरकारी गतिविधि र रवैयाका कारणले जनता वाक्क दिक्क भईरहेका बेला यस्ता व्यवस्थाकै वर्खिलाप हुने गरी गरिने यस्ता धरपकड र षडयन्त्रकारी पोकाहरु अब बन्द हुनुपर्दछ । सत्ता बाहिरका विरोधी आवज वा 

प्रतिरोध....गतिविधिलाई निस्तेज तुल्याउन सत्तापक्षका सांसद तथा मन्त्रीहरुको जिम्मेवारी हुनुपर्ने, भूमिका त्यो अनुसार खेल्नुपर्नेमा झन आगोमा घिउ थप्दै हिंडिरहेका छन् । सत्ता बाहिर रहेकाहरुलाई चिड्याउने, अझ सशंकित बनाउने र अविश्वासको खाडल झनै बढाउने प्रवृत्तिका टिकाटिप्पी र गालीगलौजमै मन्त्रीहरु नै लागिरहेका देखिन्छन् । विरोध गर्नेलाई नछोडिने प्रतिक्रिया खुलेआम रुपमा दिएर स्थिति अझ भड्काउने र आक्रोशित बनाउने बोलि र व्यवहार गरिरहेको सोमबार मन्त्री देवेन्द्र दाहालले दिएको अभिव्यक्तिबाटै पुष्टि हुन्छ । सोमबार मन्त्री देवेन्द्र दाहालले मिडयाबाटै विरोध गर्ने कसैलाई नछाडिने जवाफ अन्र्तवार्ताका क्रममा दिएका थिए । एकातिर सरकारमै रहेका अधिकांश मन्त्रीहरु मात्र होइन प्रधानमन्त्री स्वयंको छविमाथि प्रश्न उठिरहेको बेलामा विरोधीहरुलाई षडयन्त्रपूर्ण ढंगबाट फसाउने रणनीतिले समग्रमा कसैको हित गर्दैन अझ स्थितिलाई बिगार्ने काम गर्दछ ।

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई साइबर अपराधको मुद्दामा पक्राउ गरेपछि उनका समर्थकहरु आन्दोलित भएका छन् । त्यो आन्दोलन काठमाडौंदेखि झापासम्म फैलिएको छ । यहि बेला सहकारीको रकम अपचलनको आरोपमा विशेष समितिले कारवाहीको लागि सिफारिस गरिएका पूर्व डिआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । सोही समितिको कारवाहीको सिफारिसको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिका विरुद्धमा रास्वपाका समर्थकहरु लागिसकेका छन् । आफुलाई राजनीतिक प्रतिशोध लिन खोजिएको, कुनै नेतालाई बचाउन बलिको बोका बनाउन लागिएको प्रतिक्रिया रवि लामिछानेले दिएका छन् । उनको पक्राउ हुने आशंकामा घरमै सैयौ कार्यकर्ता भेला भएका छन् । यसले देशमा नयाँ तनापूर्व स्थिति पैदा गरेको छ । अमेरिकामै पनि ओली आफैप्रति खतरा भए पछि उनले कार्यक्रम नै रद्द गर्न नेपाली महावाणिज्य दूतावास बध्य भएका खबर पनि प्राप्त भएका छन् । प्रधानमन्त्री ओली सहभागी हुने भनिएको अमेरिकाकै एक कार्यक्रम असुरक्षाका कारणले स्थगित गरेको अमेरिकास्थित नेपाली नियोगले सूचना जारी गरेको थियो । यि सबै घटनाक्रमलाई अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओली फर्किए पनि कसरी सम्हाल्ने हुन भन्ने प्रतिक्षाको विषय बनेको छ ।

झापामा ट्रकमाथि आगजनी र चक्काजाम

बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई पक्राउ पछि अदालतले ३ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको छ ।  मेडिकल व्यवसायी भए पनि प्रसाईले ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का नाममा गतिविधि गरिरहेका थिए । झापामा अराजक गतिविधि हुनसक्ने भन्दै सुरक्षाकर्मीहरुलाई सतर्क राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

माइतीघर मण्डलामा विरोध

प्रसाईंका समर्थकहरुले सोमबार दिउँसो माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । पक्राउ परेका आफ्ना अभियन्ताहरुलाई छोडाउन उनीहरुले विरोध प्रदेर्शन गरेको जनाएका छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया