इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिकाको एक होटलमा तीन दिनदेखि बन्धक बनाइएका १२ जना किशोरीहरुलाई प्रहरीसहित सरोकारवालाको सक्रियतामा द्धार गरेको छ । काममा लगाइदिने भनी अनलाइनबाट आवेदन दिएर आएका किशोरीहरुलाई बन्धक बनाई दुव्र्यवहार गरेको भनी प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा किशोरीहरुको उद्धार गरेको हो ।
नानीहरूमध्ये २ जना नाबालिका समेत रहेका छन् । इलाका प्रहरी कार्यालय, मानव अधिकारकर्मी, भ्वाइस अफ चिल्ड्रेन लगायतका सामाजिक संस्थाहरूको सक्रियतामा बन्धक बनाएर राखिएका बालिका तथा किशोरीहरूलाई मंगलबार उद्धार गरिएको इलाका प्रहरी कार्यालयका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
उद्धार गरिएकामध्ये दुई जना नाबालिका रहेकोले स्वास्थ्य परीक्षण गरेर सुरक्षित स्थानमा राखिएको छ भने बाँकी अन्यलाई सोही होटलमा प्रहरीको सुरक्षा घेराभित्र राखिएको छ । इटहरी उपमहानगरपालिका–९ बसपार्क क्षेत्रस्थित बन्दना होटलको एउटै कोठामा बन्धक बनाइएका राखिएका बालिका तथा किशोरीहरूलाई उद्धार गरिएको बालअधिकारकर्मी भ्वाइस अफ चिल्ड्रेन कोसी प्रदेशका प्रमुख भरत थापाले जानकारी दिए।
सामाजिक संजालमा ब्लेस ग्लोबल इन्टरनेसनल नामक मार्केटिङ कम्पनीले मासिक १५ हजारदेखि ३० हजार रुपैयाँसम्म दिने विज्ञापन राखेकोले बालिकाहरू फारम भरेर नै यहाँसम्म आइपुगेको बताएका भ्वाइस अफ चिल्ड्रेन इटहरीको साइबर सेफ्टी परियोजनाका अधिकृत लिला भुजेलले जानकारी दिइन्।
यसरी बालिकाहरूलाई जागिर लगाइदिने प्रलोभन देखाई ल्याइएका बालबालिकाहरूलाई यौन दुव्र्यवहार समेत गरेको भन्ने पीडित बालिकाहरूले बताएको अधिकृत भुजेलले बताएकी छिन् । उनका अनुसार उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ, भने परिवारलाई सम्पर्क गरी जिम्मा लगाइने तयारी भइरहेको छ ।
’दुई जना नाबालिका भएका कारणले स्वास्थ्य परीक्षण गरिएको छ, स्वास्थ्य परीक्षणको रिर्पोट आएपछि उनीहरूलाई पनि परिवारको जिम्मा लगाइने छ,’ उनले भनिन्।
सुरुवातमा काठमाडौँमै एक महिना काम गरेर सुनसरीको इटहरीलाई केन्द्र बनाएर मार्केटिङ गर्न आएकामध्ये सिन्धुपाल्चोक घर भएकी २२ वर्षे युवतीले शरीर बन्धक बनाई यौन दुव्र्यवहार गरेको भनी प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
होटलमा राखेर बालबालिकालाई बन्धक बनाएको र यौन दुव्र्यवहारसमेत गरेको अभियोगमा वेल्सका मार्केटिङ म्यानेजरको रूपमा कार्यरत ओखलढुङ्गा खिजीदेम्बा गाँउपालिका–१ का २९ वर्षीय तिलक श्रेष्ठ र सोलु नेचाकी २२ वर्षे टीका कट्टेललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको डीएसपी भण्डारीले जानकारी दिए।
बालबालिकाहरूलाई काममा लगाउने ब्लेस ग्लोबलका बारेमा समेत अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो