काठमाडौं । भारत प्रशासित कस्मिरको श्रीनगरबाट उद्धार गरी ल्याइएका सिराहाका २१ श्रमिकलाई शुक्रबार सम्बन्धित परिवारको जिम्मा लगाइएको छ । पछिल्लो पाँच महिनादेखि कस्मिरको श्रीनगरमा बन्धक बनाएर राखिएका सिराहाका २१ र धनुषाका सात गरी २८ श्रमिकको उद्धार गरी नेपाल ल्याएर सम्बन्धित परिवारको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ ।
सिराहाका निमित्त प्रमुख जिल्ला अधिकारीसमेत रहेका प्रशासकीय अधिकृत रवीन्द्र महतका अनुसार भारतस्थित नेपाली राजदूतावास र भारतीय गैरसरकारी संस्था किनको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीमार्फत उद्धार गरी बिहीबार धनुषाको जनकपुर ल्याइएका श्रमिकलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले शुक्रबार परिवारको जिम्मा लगाएको हो ।
सिराहाको कल्याणपुरका १५, गोलबजारका चार तथा कर्जन्हा र सुखीपुर नगरपालिकाका एक–एकजना गरी २१ जना २४ देखि ६० वर्ष उमेर समूहका श्रमिकलाई परिवारले बुझेर लगेको उनले बताए । उनका अनुसार भारत बिहारको भीमनगरका जुबेर खानले सडक निर्माणको काममा आकर्षक पारिश्रमिक पाउने भन्दै नेपाली दलालमार्फत् झुक्याएर द्वन्द्वग्रस्त क्षेत्र जम्मु–कस्मिर पु¥याएका श्रमिकलाई जबर्जस्ती जोखिमपूर्ण काम लगाउने, पारिश्रमिक माग्दा कुटपिट गरी कागजात र मोबाइलसमेत खोसेर बन्धक बनाएका थिए ।
‘बन्धक बनाइएकामध्ये कसैले लुकेर घरमा सुनाएपछि वडा, पालिका हुँदै उद्धारका लागि गत फागुनमा प्रशासनमा निवेदन आएको थियो,’ उनले भने, ‘जिल्ला प्रशासनबाट उद्धारका लागि गृह मन्त्रालयलाई पत्राचार गरेपछि गृहले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पत्राचार गरेसँगै उद्धार गरिएको हो।’ उद्धार गरी जनकपुर ल्याइएका श्रमिकहरूलाई बिहीबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, सचिव दिनेश भट्टराई र सहसचिव आभा श्रेष्ठको उपस्थितिमा मानव बेचबिखन तथा ओासारपोसार नियन्त्रण समितिले बुझेर जिल्ला ल्याई शुक्रबार परिवारको जिम्मा लगाएको उनले बताए ।
महतका अनुसार नेपाली श्रमिकहरूलाई जम्मु–कस्मिर पु¥याउन बिचौलियाको काम गर्ने नेपाली र भारतीय एजेन्टको समेत खोजी गरी अनुसन्धानपछि कारबाहीको दायरामा ल्याइनेछ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो