गिरी पक्राउपछि मोरङ कारागारमा दुई समूहबीच प्रदर्शन, सुरक्षा सतर्कता बढाइयो

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर ।  अवैध रकम असुलीको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि जिल्ला कारागार मोरङभित्र कैदीबन्दीबीच तनाव उत्पन्न भएको छ। शनिबार दिउँसो कैदीबन्दीहरू दुई समूहमा विभाजित भएर पक्ष र विपक्षमा प्रदर्शन गरेपछि कारागार प्रशासनले सुरक्षा सतर्कता बढाएको छ।
कारागारका जेलर राजन घिमिरेका अनुसार ब्लक ‘बी’ का कैदीबन्दीहरूले गिरीको समर्थनमा प्लेकार्डसहित प्रदर्शन गरे भने ब्लक ‘ए’ का कैदीबन्दीहरूले उनको विरोध गर्दै नाराबाजी गरेका थिए। कारागारभित्रै दुई पक्षबीच फरक–फरक प्रदर्शन भएपछि प्रशासनले अवस्थामाथि निगरानी बढाएको जनाएको छ।
प्रहरीले गिरीलाई शनिबार बिहान विराटनगर–८ मधुमारास्थित निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनले स्वास्थ्यमा समस्या देखिएको भन्दै छाती दुखेको गुनासो गरेपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ।
अनुसन्धानका क्रममा कारागारमा वितरण गरिएको ‘गर्मी भत्ता’ सम्बन्धी रकम अनियमितता भएको आरोप गिरीमाथि लागेको छ। कारागार प्रशासनका अनुसार बी ब्लकका कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ४० हजार रुपैयाँ केही समयमै हराएको विषयपछि अनुसन्धान सुरु गरिएको हो।
जिल्ला कारागार मोरङका तीन ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँका दरले गर्मी भत्ता उपलब्ध गराइएको थियो। तीमध्ये बी ब्लकका ५३६ कैदीबन्दीलाई वितरण गरिएको रकम गायब भएको भन्दै छानबिन अघि बढाइएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले घटनालाई गम्भीर रूपमा लिइएको बताएका छन्। कारागारभित्र देखिएको समर्थन र विरोधको अवस्थाबारे थप जानकारी लिन स्थलगत निरीक्षण गर्ने तयारी भइरहेको उनले बताएका छन्।
गिरी यसअघि अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा करिब नौ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। पछिल्ला दुई वर्षदेखि कारागार बाहिर रहे पनि कारागारभित्रको आन्तरिक गतिविधिमा उनको प्रभाव रहेको आरोप पुनः उठेपछि घटनाले थप चर्चा पाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको कारागार प्रशासनले जनाएको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया