आज श्रावण महिनाको पहिलो दिन, नेपाली पात्रो अनुसार ’साउने संक्रान्ति’। वैदिक परम्परामा यो दिनलाई सूर्यले कर्कट राशिमा प्रवेश गर्ने समयका रूपमा मानिन्छ, त्यसैले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ज्योतिष शास्त्रका अनुसार यही दिनदेखि सूर्य दक्षिणायन हुने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ। धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले साउने संक्रान्तिले विशेष महत्व राख्दछ ।
हामी धर्मनिरपेक्ष राष्ट्रमा बाँचिरहेका छौं, तर हिन्दू धर्मको बाहुल्यता भएका कारण हिन्दू चाडपर्वहरूको सामाजिक प्रभाव सबै समुदायमा देखिन्छ । साउने संक्रान्तिबाट सुरु हुने साउन महिनाले हिन्दू नारीहरूको लागि विशेष महत्व राख्दछ । शिवको आराधनामा सोमबारको व्रत बस्ने, हरियो पहिरन लगाउने र सौभाग्यका प्रतीकहरू अपनाउने चलन सामाजिक र धार्मिक दुवै कोणबाट महत्वपूर्ण छ ।
परम्परागत रूपमा साउने संक्रान्तिलाई ’लुतो फाल्ने’ दिनको रूपमा पनि चिनिन्छ। वर्षातपछि खेतका काम सकिएर, हिलोमैलो कम हुँदै जान्छ भन्ने मान्यता अनुसार यस दिन छालाजन्य रोगहरूबाट बच्न कण्डारक नामक राक्षसको पूजा गर्ने चलन छ। धार्मिक विश्वास र जनजीवनको स्वच्छ सम्बन्ध झल्किने यो पक्षले संस्कृति र स्वास्थ दुवैको ख्याल गरेको पाइन्छ ।
तर यस्ता धार्मिक चाडपर्वहरूमा समावेश केही पुराना मान्यताहरू र परम्पराहरू आलोचना योग्य छन्। धर्मको नाममा महिलामाथि थोपिएका कर्तव्य, पवित्रताको कठोर मापदण्ड, र अन्धविश्वासको आडमा समाजमा गरिने व्यवहारले धर्म प्रतिको विश्वासलाई चुनौती दिएको छ। अझै पनि कतिपय क्षेत्रमा धर्म, संस्कार र संस्कृति महिलालाई नियन्त्रण गर्ने माध्यम बनेको देखिन्छ ।
जसरी एक दार्शनिकले भनेका थिए — “धर्म अफीम हो“, त्यसैगरी अन्धश्रद्धा र कुसंस्कारले धर्मलाई चेतनाको होइन, मूर्छाको माध्यम बनाउँछ। तर धर्मको मूल सार भनेको चेतना, सहिष्णुता र आत्मकल्याण हो। साउने संक्रान्तिको सन्देश पनि अन्ततः यही हो — प्रकृतिसँग सहअस्तित्व, पवित्रता, शरीर र मनको शुद्धि, र समाजमा सौहार्द ।
यसै सन्दर्भमा हामी सबैको कर्तव्य हो — धर्म र परम्पराको संरक्षण त गरौं तर त्यससँगै समय सापेक्ष परिवर्तन, विवेक र वैज्ञानिक दृष्टिकोणको विकास गर्न पनि नछाडौं। चाडपर्वले जातीय, धार्मिक वा लैङ्गिक विभाजन सिर्जना गर्नु हुँदैन। बरु यी पर्वहरूले सामाजिक एकता, प्रेम र सहअस्तित्वको भावना फैलाउनु पर्छ।
साउने संक्रान्तिको शुभकामना! हामी सबै मिलेर संस्कारको सम्मान, अन्धविश्वासको बहिष्कार र सहअस्तित्वको अभ्यास गरौं ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो