
इटहरी । लाखौं नेपालीका लागि वैदेशिक रोजगारी केवल रहर होइन, जीवन धान्ने बाध्यता बनेको छ। अधिकांशको मन भने विदेशको मरुभूमिमा होइन, आफ्नै गाउँ–घरको माटोमा हुन्छ। तर स्वदेश फर्किएर केही गर्ने सपना अनेक चुनौतीसँग ठोक्किँदा धेरै फेरि विदेशिन बाध्य हुन्छन्। यस्तै संघर्ष, असफलता र पुनः उठ्ने साहसको प्रतिनिधि पात्र हुन् मोरङको केराबारीका सरोज बास्तोला।कतारलाई वर्षौंदेखि कर्मथलो बनाएका बास्तोलाले यसअघि पनि नेपाल फर्केर व्यवसाय गर्ने प्रयास गरेका थिए। तर व्यवसायिक वातावरण, विभिन्न प्रशासनिक तथा आर्थिक चुनौतीका कारण त्यो प्रयास सफल हुन सकेन। अन्ततः उनी फेरि कतार फर्किए। तर स्वदेशमै केही गर्ने हुटहुटी भने कहिल्यै मरेन।लामो प्रवासी जीवनपछि बास्तोला पुनः नेपाल फर्किएका छन्। यसपटक उनले अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर सेवा सञ्चालन गर्दै स्वदेशमै नयाँ व्यवसायिक यात्रा सुरु गरेका छन्। नेपालबाट विश्वका विभिन्न देशमा रहेका नेपालीलाई सहज, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्यसहित ुट्रेड भिजन कार्गो एण्ड कुरियर प्रालिु सञ्चालनमा ल्याइएको हो।काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासस्थित कार्यालयको उद्घाटन वित्तिय सहयोगी संस्था ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष विनोद भट्टराई र चर्चित गायिका सरिका घिमिरेले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा विभिन्न कार्गो कम्पनीका प्रतिनिधि, व्यवसायी, सामाजिक अभियन्ता, पत्रकार तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।उद्घाटन समारोहमा सहभागीहरूले नयाँ कम्पनीले अन्तर्राष्ट्रिय कार्गो क्षेत्रमा गुणस्तरीय, विश्वसनीय र सेवामुखी विकल्पका रूपमा आफूलाई स्थापित गर्ने विश्वास व्यक्त गरे।कम्पनीका सञ्चालक बास्तोलाले विदेशमा बसेर आर्जेको अनुभव अब आफ्नै देशमा लगानी गर्ने समय आएको बताउँदै नेपालबाट विश्वभर सामान सुरक्षित, छिटो र सहज रूपमा पुर्याउनु आफ्नो मुख्य उद्देश्य रहेको बताए।उनका अनुसार कम्पनीले अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक तथा मध्यपूर्वका विभिन्न देशमा सेवा विस्तार गरिसकेको छ। आगामी दिनमा सेवाको पहुँच अझ व्यापक बनाइने उनले जानकारी दिए।कार्यक्रममा बोल्दै गायिका सरिका घिमिरेले व्यवसाय केवल नाफामुखी नभई विश्वास र सेवामाथि टिक्ने भएकाले ग्राहकको भरोसा जित्ने गरी काम गर्न सुझाव दिइन्।हाल कम्पनीले काठमाडौंको बालाजु बाइपासस्थित मुख्य कार्यालयसँगै भक्तपुर, ललितपुर, काठमाडौं, सुनसरी र मोरङमा सम्पर्क तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ।प्रवासी नेपालीका लागि यो केवल नयाँ कम्पनीको उद्घाटन मात्र होइन, विदेशको कमाइ र अनुभवलाई स्वदेशको विकासमा लगानी गर्न सकिन्छ भन्ने अर्को उदाहरण पनि हो। बारम्बार विदेशिनुपर्ने बाध्यता र स्वदेशमै केही गरौं भन्ने चाहनाबीचको संघर्षमा सरोज बास्तोलाको यो यात्रा हजारौं प्रवासी नेपालीको साझा कथाजस्तै देखिन्छ।
१४ असार २०८३, अाईतबार १०:११ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो