दमकलाई फोहोरमैला निषेधित क्षेत्र बनाउने अभियान

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । फोहोर व्यवस्थापनमा निकै तनाव व्यहोर्दै आएको दमक नगरपालिकाले पछिल्लो समय फोहोर निषेधित क्षेत्र बोर्ड राख्न थालेको छ । टोल टोलमा गएर सचेतना देखि लिएर घरको फोहोर घरभित्रै व्यवस्थापन गर्नेसम्मका कामले सर्वसाधारण चेतना निकै बढेको वातावरण समितिका अध्यक्ष तथा वडा नं. ६ का वडाअध्यक्ष टेकबहादुर थापाले बताए ।

फोहोरमैला निषेधित क्षेत्र लेखिएको बोर्ड गाडिरहेको अवस्थामा भेटिएका थापाले दमकलाई फोहोरमैला निषेधित नगर बनाउने अभियानतिर लागेको बताए । नगरलाई फोहोरमैला निषेधित क्षेत्र बनाउने अभियान अन्तर्गत निषेधित क्षेत्रको सुचना बोर्ड राख्ने काम भइरहेको उनले जानकारी गराए । थापाका अनुसार ती बोर्डहरु केहि सहकारीहरुले सौजन्य गरेको बताए । 

पहिलो चरणमा मंगलबार नगरपालिका रोड, पशुपति मार्ग र बेलडाँगी रोडमा फोहोरमैला निषेधित क्षेत्रको सुचना बोर्ड राखीएको छ । यो क्रम निरन्तर चल्ने जनाइएको छ । खासगरी बजार क्षेत्रमा धेरै फोहोर उत्पादन हुने भएकोले बजार क्षेत्रलाई नै फोहोर मुक्त गर्यो भने नगर सफा र फोहोर रहित नगर बन्न सक्ने अध्यक्ष थापाको अपेक्षा छ । 

कम्तिमा १ सय ठाउँमा यस खाले बोर्ड राख्दै अन्य सचेतनाका कार्यक्रम निरन्तर सञ्चालन गरेर दमक नगरपालिकालाई नै फोहोर मुक्त नगर बनाउने योजनामा नगरपालिका रहेको स्पष्ट पारे । निषेधित क्षेत्रमा फोहोर फाल्नेहरुलाई ५ हजार रुपैँया नगद सहित अन्य कानुनी कारवाही हुनेछ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया