इटहरी । तिहार सकिए लगत्तै निकै हर्षोलासपूर्वक मनाइने छठ पर्वको आज मुख्य दिन हो । आज साँझ अस्ताउँदो सूर्यलाई जल चढाउँदै भक्तिभावका साथ पुजाअर्चना गरेर मनाइन्छ । विगत एक दशक अगाडि एउटा सीमित समुदायले मनाउने छठ पर्व आजभोलि सबैको साझा बनिसकेको छ । मुख्यतय आदिवासी कोचलगायतका समुदायले मनाउने यस चाडको तयारी स्वरुप नदीकिनारका पूजास्थल (मण्डप) सजीसजावटका कामहरु भईरहेका छन् । जिल्लाको दमकसहित एक दर्जन बढी स्थानमा मनाईदै आएको छठलाई भव्य रुपले मनाउन तयारीसंगै दर्शनार्थीको चापलाई व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापन मजबुत बनाउने तयारी थालिएको छ ।
दमकको रतुवा खोला किनारमा सजाइएको पूजास्थल घाटको मनोरम दृश्य अवलोकन गर्ने र पूजास्थलसम्म जान, आउन हुने गरेको समस्यालाई मध्यनजर गर्दै यस बर्ष थप व्यवस्थित बनाउने प्रयास गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । रतुवा किनार दमकको ७ नम्बर वडाको भुगोल मुख्य रुपमा छठ पूजाका लागि धेरैको रोजाइको ठाउँ बन्ने गरेको छ । यसलाई मध्यनजर गर्दै यस बर्ष वडाध्यक्ष भिमप्रसाद पौडेल छठ पर्व आउनु अघिदेखिनै खोला किनारमा आवागमन सहज बनाउन र पूजास्थललाई व्यवस्थित गर्ने गराउने कार्यमा लागेका छन् । बुधबार बिहान उज्यालो नहुँदै वडा नं ७ स्थित रतुवा खोला तटबन्धनस्थलमा दुई वटा जेसीबिको व्यवस्थापनसहित खटिएका वडाध्यक्ष पौडेलले अग्लो बाँध भएर खोला किनार (घाट) अर्थात पूजास्थल जाने दुई वटा सिँढी बनाइसकिएको बताए । पक्की सिँढी बनाइएका कारण अब घाटमा पूजा गर्न जाने आउने बृद्धबृद्धाहरुलाई सहज हुने अपेक्षा गरिएको उनले बताए । आफ्नो वडा क्षेत्रमा झण्डै ३० हजार मानिसहरु पूजा आजा र अवलोकनका लागि आउने पूर्वानुमानसहित आवश्यक व्यवस्थापन गरिएको उनको भनाई छ । दमकमा मैथिली सेवा समाजको अगुवाईमा वृहत छठ पूजा हुदैआएको छ । यहाँ करिव ३ सय घाट निर्माण हुने छन् । बाँधको बिच भागमा रहेको ठुलो खाल्डो पुर्ने र त्यहाँ आवश्यक व्यवस्थापन मिलाउने काम अन्तिम चरणमा पुगेको छ । पूजास्थलमा आवतजावतको समस्यालाई मध्यनजर गर्दै आजै बेलुकी ४ बजे अघि त्यहाँ माटो पूर्ने र सिँढीबाट आवतजावत गर्न सकिने गरिको व्यवस्थापन मिलाइने वडाध्यक्ष पौडेलले बताए ।
उनले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय दमक र नगर प्रहरीसँगको सहकार्य र समन्वय भइरहेको बताए । वडाध्यक्ष पौडेलले आपसी सदभाव र एकतालाई मजबुत बनाउने अवसरको रुपमा छठ पूजालाई उपयोग गर्न आम दमकबासीहरुसँग आग्रह पनि गरेका छन् ।
ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज नारायण प्रसाद भट्टराई छठ पूजामा बर्षेनी हुने गरेको सवारी साधन र मानिसहरुको चापलाई मध्यनजर गर्दै आवश्यक व्यवस्थापनको
योजना बनाइएको बताउँछन् ।सवारी साधन र मानिसहरुको हुन सक्ने चापको पूर्वानुमान गरेर अलग अलग तीन ठाउँमा पार्किङस्थल तोकिएको र बढी भिड हुने ठाउँहरुमा ट्राफिक प्रहरीको सक्रिय भुमिका अनिवार्य गरिएको इञ्चार्ज भट्टराईले बताए ।
कार्यक्रम संयोजक राजकुमार गुप्ताका अनुसार पूजा स्थलमा करिब एक हजार बढी डाला राख्न सकिनेछ । पूजाको घाट व्यवस्थापनका लागि करिब १३ लाख रुपैयाँ खर्च हुने उनले बताए । पूजा सम्पन्न गर्न समितिले विभिन्न सात वटा उपसमिति गठन गरेको छ । राजकुमार गुप्ताको संयोजकत्वमा मुल आयोजक समिति, मनोज चौधरीको संयोजकत्वमा अर्थ ब्यवस्थापन समिति, शंकर भगतको संयोजकत्वमा घाट तथा कुपन ब्यवस्थापन समिति, संगीता रौनियारको संयोजकत्वमा प्रचारप्रसार समिति, सत्यनारायण चौधरीको संयोजकत्वमा प्रसाद ब्यवस्थापन समिति, असोक चौधरीको संयोजकत्वमा मञ्च ब्यवस्थापन समिति र मनोज रौनियारको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको बताइएको छ ।
मेची किनारमा छठ पूजाको तयारी तीब्र
भद्रपुरस्थित मेची नदीमा भव्य छठ पूजाका लागि तयारी तीव्र पारिएको छ । ।विगतमा तराईबासीको पर्व रहेको छठलाई भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगालीलगायत सबै जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजा गर्ने गरिएको छ । नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने भद्रपुरस्थित मेची नदीमा छठ पर्वमा झण्डै ५ हजार पूजास्थल निर्माण हुँदैछ । करिव ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारी दुवैपट्टि पूजा गर्ने गरी आयोजकले व्यवस्थापन गरिरहेको जनाइएको छ ।
पूजा स्थलका लागि नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने छन् भने नेत्र ज्योति समाजलगायत सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि निःशुल्क पानी तथा चियाको व्यवस्था गर्ने जनाएका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो