सहकारी बचत अपचलनमा फरार रहेकी अञ्जना अदालत उपस्थित हुने वित्तिकै रिहाई

खगेन्द्र कार्की

विराटनगर । नेपालको सहकारी क्षेत्र यतिखेर समस्याग्रस्त छ । लाखौं बचतकर्ताको अरबौं रकम सञ्चालकहरु र उनीहरुको मिलिभगतमा ऋण दिएर अपचलन गरिएको छ । बचत फिर्ताको लागि पीडितहरु कराईरहेका छन । सरकारले अपचलन गरेको देखिएका सहकारीमाथि निगरानी र छानविन अगाडि बढाएको छ । जुन सकारात्मक पक्ष हो । तर, सरकारको छानविन र कार्वाही विवादमुक्त हुन सकेको छैन । राजनीतिक पूर्वाग्रहप्रेरित भएर सरकारले काम गरेको आरोप लागिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जो कुनै पनि सहकारीका सदस्य हैनन् र सहकारीबाट उनले रकम लिएको प्रमाणित भएको छैन । उनलाई सहकारी ठगीको नाइकेको रुपमा सरकारले प्रस्तुत गरिहरेको छ । तर सत्ता र शक्तिको दुरुपयोग गर्दै सरकारमा सहभागी दलका नेताहरु जोडिएका सहकारीको ठगीमा उनीहरुमाथि छानविन नगर्ने, नपक्रने र फरार देखाएर अदालत उपस्थित गराउने वा सम्बन्धित ठाउँमा बयान दिन लगाउने जस्तो विभेदकारी काम गरिरहेको छ । छानविन र कारवाहीबाट सरकार पक्षका सहकारी ठगहरुलाई उन्मुक्ति दिने प्रपञ्च मात्र भइरहेको घटनाक्रमले देखाएको छ । मोरङ र सुनसरीका दुई प्रकरणले प्रहरी प्रशासन तथा न्याय प्रणालीमा रहेको असमान व्यवहारलाई उजागर भइरहेको बेलामा बुधबार फरार सुचिमा रहेकी मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालत उपस्थित भएकै दिन अदालतको आदेशमा १० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएकी छन् ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशमा बयानपछि थुनछेक बहस भएको थियो । इजलाशले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनले नगदै १० लाख रुपैयाँ धरौटी बुझाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । स्रोतका अनुसार अदालतको आदेश आउनसाथ अञ्जलाले धरौटी रकम जम्मा गरेकी थिइन् ।

थुनछेक बहस अगाडि अदालतमा बयान दिँदै अञ्जलाले कुनै दायित्व आफूसँग नरहनेगरि सहकारीको सञ्चालक समितिबाट राजीनामा दिएको तथा सञ्चालक समितिको कुनै पनि माइन्युटमा हस्ताक्षर नगरेको दावी गरेको आदेशमा उल्लेख छ । सहकारीबाट राजीनामा दिँदा कुनै दायित्व नहरनेगरि प्रतिवादी अञ्जालाले राजीनामा दिएकोले थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने नदेखिएको आदेशमा उल्लेख छ ।

सो प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई भने अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । उनी नेपाली काँग्रेसबाट २०७४ मा वडाध्यक्ष निर्वाचित भएका थिए । सोही मुद्दामा नेकपा एमालेबाट निर्वाचित रंगेली नगरपालिका वडा नम्बर २ का बहालवाला वडाध्यक्ष सन्तलाल खवासलाई भने अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुरमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २३ जना अझै फरार छन् । अभियोगपत्र अध्यक्ष रौनियार र सञ्चालक अञ्जलासहित लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलाई प्रतिवादी बनाइएको छ । यसैगरी अदालतमा दायर भएको अभियोग पत्रमा चम्पा गिरी, शम्भुप्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो नसरुदिन, मनोज कुमार सोनी र यशोदा कुमारी राजवंशी फरार प्रतिवादीमा रहेको उल्लेख छ ।

दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ ।

उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया