इटहरी । चितवनमा आयोजित एक श्रद्धाञ्जलीसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार बोलेको विषय कांग्रेस वृत्तमा निकै चासोका साथ हेरिएको छ । उनले ‘म रिटायर्ड हुन लागेँ, पार्टीलाई एक बनाउने इच्छा छ’ भनेपछि कांग्रेसीजनमा कौतुहलता बढेको छ ।
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको उत्तराधिकारी को होला भन्ने चासो छ । १५औँ महाधिवेशनका सभापतिका आकांक्षीहरू सभापति देउवालाई रिझाउने प्रयास गरिरहेका छन् । देउवाको समर्थन कुन नेतालाई हुन सक्ला भनेर विभिन्न अनुमान भइरहेका छन् । कांग्रेसभित्र मात्र होइन, बाहिर पनि यो चर्चाले प्राथमिकता पाइरहेको छ ।
तर, सभापति देउवाले चितवन पुगेर ‘सर्वमान्य नेता’ हुने संकेत गरेका छन् । अर्थात्, आउँदो महाधिवेशनमा आफ्नो टिमको उम्मेदवार नभन्ने संकेत उनले दिएका छन् । १३ असारमा चितवन पुगेका देउवाले भनेका छन्, ‘राजनीतिबाट रिटायर्ड हुन लागेँ, पार्टीलाई एक बनाएर जान्छु ।’
चितवनमा कांग्रेसकी नेता एवं प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवी प्रधानको श्रद्धाञ्जलीसभामा सभापति देउवाले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाएका हुन् । यसलाई राजनीतिक अर्थमा हेर्न खोजिएको छ । देउवाले अझ प्रस्टसँग चितवनमा भनेका छन्, ‘म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’
पछिल्ला दिनमा भावी सभापतिका लागि देउवाले नेताहरूलाई ग्रीन सिग्नल दिएका छैनन् । सभापतिको दुई कार्यकालपछि आउँदो महाधिवेशनबाट अवकाश हुँदै गरेका देउवासँग महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, नेताहरू कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहदेखि विमलेन्द्र निधिसम्मले आस गरेको देखिन्छ ।
कतिपयले भने जसले नेतृ आरजु देउवालाई महामन्त्री वा उपसभापतिमा सेट गर्छ, उही नेतालाई देउवाले सभापतिमा समर्थन गर्ने चर्चा पनि कांग्रेसभित्र छ । तर, देउवाले अहिलेसम्म बोलेको देखिएको छैन । देउवाको ग्रीन सिग्नल लिनका लागि यसबीचमा पनि महामन्त्री गगन थापाले प्रयास गरेका थिए । अनि, शेखर कोइरालाले पनि प्रयास गरेका थिए । दूतमार्फत सन्देश आदानप्रदान पनि भएका थिए । त्यसो त, लामो समय देउवालाई साथ दिएका कारण खड्काले पनि देउवाकै ग्रीन सिग्नलमा सभापतिको उम्मेदवार हुने आकांक्षा राखिरहेका छन् ।
देउवाले महामन्त्री थापालाई गठबन्धनको बैठकका छलफलमा अगाडि सार्दा खड्का बाहिर पर्ने गरेका थिए । अचेल थापाले देउवाको उक्त काममा साथ नदिएको देखिँदा खड्काको सक्रियता बढेको छ । त्यसैले, देउवाको मनस्थिति भने कांग्रेसभित्र बुझ्न नसकिएको अर्थमा हेरिँदै छ । अझ कतिपयले भने शशांक कोइरालालाई समर्थन गर्न सक्ने चर्चा पनि कांग्रेसमा भइरहेको छ ।
तर, कांग्रेसलाई बलियो बनाउने र बलियो कांग्रेस हस्तान्तरण गर्ने मनसायमा रहेका देउवा पछिल्ला दिनमा भने कसैलाई समर्थन नगर्ने मुडमा देखिएको कांग्रेसभित्र केही समयदेखि चर्चा भइरहेको थियो । यो चर्चालाई देउवाले ‘म रिटायर्ड हुन लाग्या छु । पार्टीलाई एक बनाउने इच्छा छ,’ भन्नुले अझ बलियो पारेको छ ।
यसैबीच, नेपाली कांग्रेसका सभापति देउवाले कांग्रेस महाधिवेशन समयमै हुने पनि बताएका छन् । चितवन विमानस्थलमा सञ्चार कर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । नेपाली कांग्रेसको महाधिवेशन समयमा हुन नदिने प्रयास भइरहेको भन्दै केही नेता र कार्यकर्ताहरूले विरोध जनाइरहेका छन्। सोही प्रसङ्गमा सञ्चारकर्मीहरूको जिज्ञासामा सभापति देउवाले महाधिवेशन समयमै हुने बताएका हुन्।
जग्गा खरिद
नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर विस्तार गर्ने भएको छ । केन्द्रीय कार्यालय भवन रहेको सानेपा कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउन भन्दै कांग्रेसले अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने भएको हो । अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी ११ असारमा सम्झौता भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको हो ।
जग्गा र घर किन्न लाग्ने १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवी एवं शुभेच्छुकहरूको सहयोगमार्फत चुक्ता गरिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो