कोशीका मन्त्रीको गाडीले ठक्कर दिएकी बालिका अस्पतालबाट डिस्चार्ज

खगेन्द्र कार्की

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार गाडीले ललितपुरको हरिसिद्धीमा ठक्कर दिँदा घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन्।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय नजिकको मूल सडकमा मन्त्री मगर सवार सरकारी नम्बर प्लेट को १ झ ६९९ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएको थियो। 
गाडीको ठक्करबाट घाइते भएकी ललितपुर महानगरपालिका–२८ डेरा गरी बस्ने ११ वर्षीया उषा मगर सुनुवारलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो। 
उपचारपश्चात उनी डिस्चार्ज भइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए। 
एसपी जोशीका अनुसार बालिकाको गाला र घुँडामा चोट लागेको थियो। 
ुतत्कालै अस्पताल पुर्‍याएर उपचार गरिएको थियो। अहिले डिस्चार्ज भइसक्नुभएको छ, एसपी जोशीले सेतोपाटीसँग भने। 
बालिकालाई ठक्कर दिएर मन्त्रीको गाडी फरार भएपछि स्थानीयले सडक अवरूद्ध गरेका थिए। 
पछि वडा कार्यालयमा ललितपुरका सिडिओसहितको रोहबरमा भएको छलफलबाट घाइतेको सम्पूर्ण खर्च सरकार तथा सम्बन्धित पीडक पक्षबाट ब्योहर्ने गरी सहमति भएको थियो।
मन्त्री मगर एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै थिए। 
प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले घाइते बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले ब्यहोर्ने बताएका छन्। 

खगेन्द्र कार्की
प्रतिक्रिया