इटहरी । सुनसरी जिल्लाको रामधुनी नगरपालिका–६ मा अवस्थित जिविका कृषि विकास कलेज नेपाल सहकारी संस्थाबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको देशकै पहिलो कृषि कलेज भएको पुष्टि भएको छ। सहकारी अवधारणालाई शैक्षिक विकाससँग एकीकृत गर्दै स्थापना गरिएको यस कलेजले हालसम्म तीन वटा शैक्षिक ब्याचका विद्यार्थीहरूलाई सफलतापूर्वक स्नातक तहबाट पास आउट गराइसकेको छ।
कुल ८ वटा सामुदायिक र ६ वटा निजी कलेजहरू प्रतिस्पर्धामा रहँदा जिविका कृषि विकास कलेज उत्कृष्ट कलेजका रूपमा स्थापित भएको संस्थाका व्यवस्थापक शिवकुमार डागीले जानकारी दिए।
अन्य निजी कलेजहरूको तुलनामा करिब ५० प्रतिशतले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजमा हाल ६५ जना विद्यार्थीहरू अध्ययनरत छन्, जसमा विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूको सहभागिता उल्लेखनीय छ।
जिविका कृषि सहकारी संस्थाका १८२ जना सेयर सदस्यहरूको संयुक्त लगानीमा सञ्चालित कलेजले सहकारीकै स्वामित्वमा रहेको ९ बिगाहा जग्गामा बाख्रा, बङ्गुर, माछा र गाई पालन गर्दै आएको छ। हाल दैनिक ८० लिटरभन्दा बढी दूध उत्पादन गरी बजारमा बिक्री भइरहेको छ।
त्यस्तै, धान, केरा, ड्रागन फ्रुट, अम्बक र विभिन्न घाँस तथा फलफूलहरूको पनि व्यावसायिक उत्पादन गरी स्थानीय बजारमा आपूर्ति गर्दै आएको पनि व्यवस्थापक डागीले जानकारी गराए।
कृषिमा प्राविधिक ज्ञान र व्यवहारिक सीपको अभावलाई सम्बोधन गर्ने उद्देश्यले सहकारीले ठूलो कृषि तालिम केन्द्र स्थापना गर्ने तयारीमा समेत रहेको छ। डागीका अनुसार, "कृषिमा जति समस्या छन्, त्यति नै सम्भावना पनि छन्। यदि सरकारले कृषिलाई प्रविधिमैत्री र आधुनिक बनाइदिने हो भने वैदेशिक रोजगारीको लागि युवाहरू विदेशिन आवश्यक पर्ने छैन।"
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो