सम्पादक बुढाथोकीलाई १ लाख राशिको सूचनाको अधिकार पुरस्कार

खगेन्द्र कार्की

विराटनगर । मुलुकी खबर अनलाइनका सम्पादक किशोर बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गरेको पुरस्कारको राशि १ लाख १ सय रूपैयाँ छ । अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुखसमेत रहेका बुढाथोकी विगत १३ वर्षदेखि सूचनाको हकको क्षेत्रमा क्रियाशील छन् ।

भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछा (साविकको तुङ्गेछा गाविस–१) घर भएका बुढाथोकी २ दशक अघिदेखि पत्रकारितामा सक्रिय छन् । संखुवासभाबाट पत्रकारिता सुरु गरेका बुढाथोकी २०६८ सालदेखि विराटनगरमा रहेर पत्रकारिता गर्छन् ।

साथै, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार एवं सूचनाको हकका अभियन्ता सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार २५ रूपैयाँ रहेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले शनिबार षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिँदै आएको थियो ।

यसवर्ष पनि चैत १६ गते महासंघको ७० औं स्थापना दिवसको अवसरमा पुरस्कार वितरण समारोह राखिएको थियो । तर, राजावादीको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको निधन भएपछि पत्रकार महासंघ आन्दोलित बन्यो । जसका कारण पुरस्कार वितरण कार्यक्रम सरेको थियो ।

महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण एवं अग्रज पत्रकार सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्वअध्यक्षहरु विक्रम लुइँटेल, लीलाबल्लभ घिमिरे, पत्रकार महासंघका प्रदेश अध्यक्ष भरत खड्का, महासंघका केन्द्रीय सदस्य कमल रिमाललगायतले मन्तव्य राखेका थिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया