इटहरी । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजना तथा कुमार गुरुङ र कुलबहादुर गुरुङको सहकार्यमा इटहरी रंगशालास्थित कवर्डहलमा आजदेखि प्रदेशस्तरीय दुईदिने खुला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।
चन्द्रमा तेक्वान्दो डोजाङ इटहरीको आयोजनामा भइरहेको प्रतियोगितामा कोशी प्रदेशका भोजपुर र तेह्रथुम बाहेकका १२ जिल्लाबाट ५०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
लामो समयदेखि इटहरीमा तेक्वान्दो प्रशिक्षण प्रदान गर्दै आएको चन्द्रमा डोजाङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आएको छ। डोजाङका प्रमुख कुलबहादुर गुरुङका अनुसार यस वर्षको प्रतियोगिता दोस्रो संस्करण हो।
इटहरी रंगशालाको कवर्डहलमा सञ्चालन भइरहेको प्रतियोगितामा ४३ विभिन्न इभेन्ट समावेश गरिएका छन्, टिम प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीलाई रु ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने टोलीलाई रु २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
चन्द्रमा तेक्वान्दो डोजाङका सञ्चालक कुलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कोशी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष शिव दाहाल, मोरङ जिल्ला तेक्वान्दो संघका सदस्य सूर्य दंगाल, उसु प्रशिक्षक दीपक कार्की लगायत खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
इटहरी उपमहानगरपालिकाको सहयोग तथा खेलप्रेमी समुदायको सहकार्यमा सञ्चालन भइरहेको प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो