मिसन ८४ का लागि एमालेका १८ बुँदे कार्ययोजना पारित

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न र मिसन ८४ सफल पार्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको कार्ययोजनालाई पारित गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलनमा निर्णय जानकारी गराउँदै महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको जानकारी दिए । वार्षिक कार्य योजनाबमोजिम अब पार्टीका सबै कमिटीहरू परिचालन हुने पोखरेलले बताए ।

वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि ४० वर्ष मुनिका युवाहरूको शिखर सम्मेलन आयोजनासम्मका विषय समेटिएका छन् । त्यस्तै एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना तय गरेको छ । सो १८ बुँदामा पार्टीका नियमित कामकारवाहीदेखि अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरुमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने, कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने,  पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने । हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने, पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्नेलगायतका विषयलाई समेटेको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया