सुनसरीको कोशी गाउँपालिका अध्यक्ष अन्सारीमाथि अनुसन्धान सुरु

फाष्ट मिडिया नेपाल संवाददाता

इनरुवा । सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारी माथि अनुसन्धान सुरु भएको छ । ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको विषयमा अनुसन्धान भएको हो ।

ड्युटीमा रहेका राष्ट्रसेवक कर्मचारीको काममा बाधा पुर्‍याएको, हुल हुज्जत र गालीगलौज गरेको र अभद्र व्यवहारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । प्रहरीको मनोबल गिराएको भन्दै  प्रहरीले मुद्दा दायर गर्ने तयारी गरेको हो ।

अध्यक्ष अन्सारीले कोशी कटानमा रहेको ट्राफिक प्रहरी र जनपथ प्रहरीलाई अभद्र शब्द प्रयोग गर्दै गाली गरेका थिए । अन्सारीले रिसाएर गाली गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनराज तिम्सिनाका अनुसार मुद्दा दायर गर्न आवश्यक कागजात तयार भइरहेको छ । घटना दुई दिन अगाडिको भए पनि अनुसन्धानको क्रम सुरु भएको र चाडै कारबाही प्रक्रिया सुरु गरिने उनले बताए ।

ड्युटीमा खटिएका जनपद प्रहरी र ट्राफिक प्रहरीका असईलाई अपशब्द बोल्दै अन्सारीले गाली गलौज गरेकाले आवश्यक कारवाहीका लागि प्रहरीले काम थालेको तिम्सिनाले जानकारी दिए ।

जेठ २३ गते शुक्रवार सुनसरीको कोशी गाउँपालिकामा को १ त ४९४३ नम्बरको ट्याक्टर ओभरलोड भएपछि प्रहरीले रोकेको थियो । कटान क्षेत्रमा खटिएका ट्राफिक प्रहरीका असई रामराज यादवले कारबाही गर्न खोजेपछि विवाद सुरु भएको हो ।  

बाँस बोकेका सवारी छुटाउन अन्सारीले भिड जम्मा गरेका थिए । घटनास्थलमा पुगेर प्रहरीलाई अपशब्द प्रयोग गर्दै जनताको लागि आफूले प्रहरीलाई कुट्ने समेत धम्की दिए ।

प्रहरीले दिएको जानकारी अनुसार यस अगाडि पनि कटान क्षेत्रमा केही दिन अघि प्रहरीले दूध बोकेको मोटरसाइकललाई समेत कारबाही गरेको थियो । दूध बोकेको मोटरसाइकल ओभरलोड भएका कारण प्रहरीले पाँच सय रुपैयाँको चिट काटेको थियो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया