चिसोले जनजीवन प्रभावित हुँदै गएको छ । बालबालिका, ज्येष्ठ नागरिक, दिर्घ रोगी, अशक्त, अपांगता खेपिरहेका व्यक्तिहरुलाई बढी यो चिसोको प्रभाव परेको देखिन्छ । सुनसरी जिल्लाले बालबालिकाकालाई चिसोबाट जोगाउन जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। केही दिनदेखि शितलहरसँगै चिसो बढेपछि विद्यालयको शैक्षिक पठनपाठन प्रभावित बनेको हो ।
स्थानीय तहहरूले यही पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। इटहरी उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ।
उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्नुपर्ने आवश्यकता परेको हो। सुनसरीका इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर–रामधुनीलगायत अन्य स्थानीय तहका विद्यालयहरू पनि वार्षिक बिदाबाट कट्टा हुने गरी बन्द हुनेछन्। स्थानीय प्रशासनले अभिभावकहरूलाई बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
पश्चिमी वायुको प्रभावले देशभरको मौसममा एकएक परिवर्तन भएको हो । पुस लागेपछि चिसो दिनप्रतिदिन बढ्दो क्रममा देखिन्छ । बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म मौसममा सफा हुन नसक्दा दैनिकी असहज बनेको छ ।
विगतको तुलनामा सवारी साधन सडकमा कम चलेको देखिन्छ । समयमै व्यापार व्यवसायका सटरहरु खुल्न छोडो छन् । अधिकांश बजारहरुको चहलपहल शुन्यप्राय देखिन्छ । केही खुलेका पसल आसपास आगो बालेर ताप्नेहरु प्रशस्त देखिन्छन । सरकारी र निजी संघसंस्थामा सेवाग्राहीको चाप कम देखिएको छ । आज झापाको तापक्रम १२ डिग्री छ ।
सगरमाथा यातायात व्यवसायी संघका अध्यक्ष नवीन कोइरालाले बिहान सवारी साधन सञ्चालनमा असहजता सिर्जना भएको बताए । उनले भने, “ चालक र सहचालकलाई आवश्यक सावधानी र संकेत गरेर मात्रै सडकमा सवारी साधन सञ्चालन गर्न भनिएको छ ।“ उनले यस्तो अवस्थामा दुर्घटनाको सम्भावित जोखिम रहने दृष्टान्त पनि सुनाए ।
झापा अर्जुनधारा नगरपालिका –९ का स्थानीयसमेत रहेका व्यवसायी कल्पना कडरियाले
भने, “चार दिनदेखि मौसम सफा नहुँदा समस्या भएको छ, बिहान ९ बजेभन्दा अघि बाहिर नस्किन नै कठिन भएको छ । “हुस्सु लागे पनि शीतलहर चाहिँ नभएको उनले बताए ।
चारदिन अघिसम्म मौसम तातो नै थियोे । हुस्सु लागेको थिएन । मौसममा कुनै परिवर्तनका संकेत नै नदेखिइ चिसो बढेकाले जनजीवन थप प्रभावित भएको सर्वसाधारणको भनाइ छ । मौसम विज्ञानले यो हिउँद तुलनात्मक रूपमा तातो रहने प्रक्षेपण गरेको थियोे ।
एकाएक भएको मौसम परिवर्तन र चिसोका कारण वृद्धवृद्धा, बालबालिका र अशक्त नागरिक प्रभावित हुने स्वास्थ संस्थाहरुले जनाएका छन् । चिकित्सकहरुले चिसोबाट बच्न आग्रह गरेका छन् । डा. लक्ष्मीप्रसाद मैनालीले भने, “ यस्तो बेला आवश्यक सावधानी अपनाउनुको विकल्प छैन, चिसोले जेष्ठ नागरिक, अशक्त, बालबालिका बढी प्रभावित हुन्छन्, उनीहरुलाई सचेत गराउने र जोगाउने पहिलो दायित्व परिवारको हो ।“ तातो पानी, खानेकुरा खान र न्यानो लुगा लगाउन र जरुरी काम बाहेक बाहिर ननिस्कन सुझाए ।
यसैगरी शैक्षिक क्षेत्रलाई पनि चिसोले सताएको छ । साना साना बालबालिका अध्ययन गर्ने विद्यालयमा अब के गर्ने भन्ने सोच्न बाध्य भईसकेका छन् ।
केहीदिन अधिसम्म यसपटकको हिउँद तातो नै रहने अनुमान गरेको र चिसो नभएको अनुभव गरिएकै बेला ह्वात्तै मौसम परिवर्तन भएपछि समस्या बढेको सर्वसाधारण बताउँछन् । यस्तै अवस्था जारी रहे जनजीवन कष्टकर हुने उनीहरूको अनुभव छ । विगतमा मंसिरदेखि नै मौसम परिवर्तन हुन्थ्यो । यसपटक पुस पहिलो साता बित्ने लाग्दासमेत मौसम सफा र तातो नै भएकोले पनि सर्वसाधारण चिसो कम हुने आसमा छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो