इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन फरक पृष्ठभूमिका उम्मेदवारका कारण निकै रोचक बनेको छ। कलाकार, खेलाडी, उद्योगी व्यवसायीदेखि पूर्वसुरक्षाकर्मीसम्मका व्यक्तित्वहरू विभिन्न क्षेत्रबाट उम्मेदवार बनेका छन्, जसले चुनावलाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको छ ।
झापा–५ बाट चर्चित र्यापर तथा काठमाडौंका निवर्तमान मेयर बालेन्द्र साह रास्वपाको तर्फबाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग प्रतिस्पर्धामा छन् । त्यस्तै पूर्व प्रहरी अधिकारी शम्भु सुस्केरा पनि झापाबाट मैदानमा छन् । गुल्मी–२ बाट पूर्व डीएसपी गोविन्द पन्थी र काठमाडौं–५ बाट अभिनेत्री निशा अधिकारी गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी छिन् । पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, गायक प्रकाश सपुत, सञ्चालिका रिमा विश्वकर्मा र डा. रूपक घिमिरे समानुपातिक सूचीमा परेका छन् ।
उद्योगी व्यवसायीहरू पनि चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसका विनोद चौधरीले पश्चिम नवलपरासी–१ बाट पुनः उम्मेदवारी दिएका छन् । त्यस्तै स्याङ्जा–१ का भरतराज ढकाल, धादिङ–१ का रमेश धमला, धादिङ–२ का कृष्ण रिजाल, रूपन्देही–२ का चुन्नप्रसाद शर्मा, मोरङ–३ का सुनील शर्मा, काठमाडौं–९ का डिपी अर्याल, डोल्पाका धनबहादुर बुढा, सिराहा–४ का वीरेन्द्र महतो र काभ्रे–२ की ज्योत्सना सैंजू पनि प्रतिस्पर्धामा छन् ।
खेलकुद क्षेत्रका अनुहारहरू पनि चुनावी मैदानमा छन् । पूर्व खेलकुद मन्त्री बल्लु गुप्ता सिराहा–१ बाट, क्यान अध्यक्ष चतुरबहादुर चन्द बैतडीबाट कांग्रेसका तर्फबाट र बास्केटबल खेलाडी अजय कुशवाहा बारा–४ बाट उम्मेदवार बनेका छन्। क्रिकेट कमेन्टेटर सचिन तिमिल्सिना काठमाडौं–४ बाट रास्वपाको तर्फबाट मैदानमा छन् भने पूर्व कप्तान ज्ञानेन्द्र मल्ल समानुपातिक सूचिमा छन् ।
पूर्वसुरक्षाकर्मीहरू पनि सक्रिय देखिएका छन्। पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बारा–४ बाट, ध्रुवबहादुर प्रधान नवलपरासी–२ बाट, पूर्व एसएसपी बिक्रमसिंह थापा कपिलवस्तु–२ बाट, र पूर्व कर्णेल रघुवीरराज थापा ललितपुर–२ तथा राजेश चन्द दार्चुलाबाट उम्मेदवार बनेका छन् ।
फरक–फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागिताले यसपटकको निर्वाचन विविधता र प्रतिस्पर्धाको दृष्टिले विशेष आकर्षणको विषय बनेको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो