वन्यजन्तुबाट हुने क्षति र संरक्षणप्रतिको दायित्व

फाष्ट मिडिया नेपाल संवाददाता

यतिखेर जताततै वन्यजन्तुबाट मानवीय क्षति भईरहेको छ । पूर्वी नेपालमा हात्ति, बाघको आक्रमणबाट धेरै मानविय क्षति पुगेको छ । हात्ति आतंक अझ धेरै देखिन्छ । गाउँ गाउँ हात्ति पसेर भौतिक र मानविय क्षति पु¥याएकोप्रति चिन्ता र चासो निकै बढेको छ । आर्थिक वर्ष ०८१÷०८२ का पछिल्ला पाँच महिनामा मात्र वन्यजन्तुको शिकार भएका मानिसहरु ८३ जना पुगेको तथ्याङ्क नेपाल प्रहरीले दिएको छ । 

यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पु¥याएको बताएको छ । सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन् । २३६ जनाको प्रहरीले उद्धार गरेको छ । त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका प्रवक्ता अधिकारीले जानकारी दिए । त्यस्तै बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । ११ जनाको प्रहरीले उद्धार गरेको छ ।

त्यस्तै गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ४ जनाको प्रहरीले उद्दार गरेको छ । भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् भने प्रहरीले २ जनाको उद्दार गरेको छ । जनावरको आक्रमणमा परेकाहरूको उद्दार र उपचारका लागि एक हजार ८ सय ३५ जना प्रहरी परिचालन भएको समेत जनाएको छ । 

जंगलमा खानेकुराको अभावमै वन्यजन्तुहरु गाउँबस्तिमा छिरेर उदण्ड मच्चाउने र मानविय क्षति समेत पु¥याउने गरेका विज्ञहरुको भनाई छ । 

अहिले मानव–वन्यजन्तु द्वन्द्व बढिरहँदा जनधन जोगाउनुपर्ने चुनौती त छ नै, त्यसमाथि संरक्षित सूचिमा परेको वन्यजन्तुको संरक्षण गर्नुपर्ने दायित्व पनि त्यतिकै रहन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस्ता वन्तजन्तुको सिकार गर्न निषेध गरेको छ । कानुनतः बौलाएको अवस्था, नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अंगभंग भएकालाई तोकिएको अधिकारीको आदेशले मात्रै मार्न वा पक्रन पाइन्छ । वनक्षेत्रबाहिर आई मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नुपर्ने ठह¥याएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन वा लखेट्न सकिन्छ । त्यो अवस्था बाहेक हात्तीलाई मार्नु अपराध हो ।

नेपालमा तराईंमा हात्ती, बँदेल, पहाडमा भालु, बाँदरसहित जंगली वन्यजन्तुले धनजनको क्षति गर्दै आएका छन् । त्यस्ता वन्यजन्तुले क्षति पु¥याएर राहत दिन सरकारले निर्देशिका जारी गरेको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० अनुसार वन्यजन्तुको आक्रमणबाट सामान्य घाइते भए २० हजार र गम्भीर घाइते भए २ लाखसम्म औषधोपचार खर्च दिने कानुनी व्यवस्था छ । यस्तै शारीरिक रुपमा अशक्त भए जीविकोपार्जन खर्च ५ लाख र कसैको ज्यान गए १० लाख रुपैयाँ राहत दिने भनिएको छ । अन्न, घरगोठ र खाद्यान्न बालीमा छुट्टाछुट्टै राहत रकम प्रदान गरिन्छ । त्यसैले हात्तीले धनमालको क्षति गर्नलाग्यो भनेर उसलाई धपाउने र जिस्काउने कार्य गर्नु हुँदैन । आफ्नो ज्यान जोगाउन भने सचेत हुनुपर्छ । हात्तीको आनीवानी बुझ्ने विज्ञहरु समेत हात्ती करिडोर क्षेत्रमा व्यवस्थापन गर्न सके जिस्क्याउने, धपाउने विभिन्न हर्कत गर्ने क्रम कम भएमा हात्तीले त्यति क्षति पुर्याउँदैन । जिस्क्याएरपछि उ बढी आक्रामक बन्छ ।

  जन्यजन्तुबाट हुने सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सकेसम्म नगई सबैलाई सचेत र सावधान रहन नेपाल प्रहरीले अनुरोध समेत गरेको र गर्दै आइरहेको छ । अप्रत्याशित रुपमा हुने यस्ता घटनालाई न्युनिकरण गर्ने तर्फ सरकार र स्वयंम समुदाय अग्रसर रहन आवश्यक देखिन्छ । सँगसँगै वन्यजन्तुलाई गाउँघर, सहरमा प्रवेश गर्न नदिन आहाराको व्यवस्थापन मिलाउनुपर्ने जिम्मेवारी र दायित्व पनि उत्तिकै छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया