रास्वपा अब परिपक्व राजनीतिक शक्ति : लामिछाने

खगेन्द्र कार्की

इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनले रास्वपालाई देशकै एक प्रमुख र परिपक्व राजनीतिक शक्तिका रूपमा वैधानिक तथा राजनीतिक पहिचान दिलाएको बताएका छन्। शनिबार चितवन उद्योग सङ्घको प्रदर्शनी हलमा आयोजित बन्दसत्रपछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले अब पार्टी राष्ट्र निर्माणको महाअभियानमा जिम्मेवार, उत्तरदायी र प्रतिबद्ध ढङ्गले अघि बढ्ने बताएका हुन्।
सभापति लामिछानेले महाधिवेशन सफल बनाउन देशका विभिन्न जिल्लाबाट प्रतिकूल मौसम र कठिन यात्राका बाबजुद सहभागी भएका प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे। उनले महाधिवेशनले पार्टीलाई संगठनात्मक रूपमा थप मजबुत बनाएको र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने आधार तयार गरेको उल्लेख गरे।
पहिलो महाधिवेशन भएकाले व्यवस्थापन र आयोजनामा केही प्राविधिक तथा व्यवस्थापकीय कमजोरी हुन गएको स्वीकार गर्दै उनले त्यसलाई कमजोरीका रूपमा नभई सिकाइको अवसरका रूपमा लिइने बताए। आगामी कार्यक्रमहरू अझ व्यवस्थित, प्रभावकारी र परिपक्व ढङ्गले सञ्चालन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
आन्तरिक निर्वाचन र नेतृत्व चयन प्रक्रियाबारे बोल्दै लामिछानेले लोकतान्त्रिक दलभित्र पदका आकाङ्क्षा स्वाभाविक हुने बताए। प्रतिस्पर्धा स्वस्थ लोकतन्त्रको अभ्यास भएको उल्लेख गर्दै उनले निर्वाचन सम्पन्न भइसकेपछि सबै नेता तथा कार्यकर्ता व्यक्तिगत असन्तुष्टि र मनमुटाव त्यागेर साझा लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीभित्रको एकता नै आगामी राजनीतिक यात्राको मुख्य आधार हुने उनको भनाइ थियो।
उनले जनताले रास्वपामाथि राखेको विश्वास र अपेक्षालाई जोगाइराख्नु पार्टीको सबैभन्दा ठूलो जिम्मेवारी भएको बताए। देशको सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासका लागि पार्टीका हरेक नेता, सांसद तथा कार्यकर्ताले इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले जनविश्वासलाई कुनै पनि अवस्थामा कमजोर हुन नदिने प्रतिबद्धता जनाए।
निर्वाचनका क्रममा नयाँ र पुराना सदस्यबीच विभाजन भएको भन्ने चर्चाप्रति संकेत गर्दै लामिछानेले अहिले त्यस्ता सबै विषय समाप्त भएको बताए। उनले नयाँ र पुराना साथीहरूलाई दुई नदीको संगमसँग तुलना गर्दै दुवै पक्षको अनुभव, ऊर्जा र क्षमताको संयोजनबाट बलियो संगठन निर्माण हुने विश्वास व्यक्त गरे। पार्टीभित्र कुनै गुट, समूह वा वैमनस्यताको स्थान नरहेको उल्लेख गर्दै उनले सबैले एकताबद्ध भएर आगामी चुनौती सामना गर्नुपर्ने बताए।
पार्टीभित्र प्यानल र सूची बनाएर चुनाव लडाइएको चर्चा भए पनि अन्ततः मतदाताले स्वतन्त्र रूपमा आफ्नो विवेक प्रयोग गरेको उनको भनाइ थियो। यस्ता विषयहरूको आवश्यक समीक्षा भविष्यमा गरिने भए पनि अहिले पार्टीलाई थप सुदृढ बनाउने काममा केन्द्रित हुनुपर्ने उनले बताए। भर्खरै पार्टी प्रवेश गरेका सदस्यहरूले समेत उल्लेखनीय मत प्राप्त गर्नुले रास्वपा सबैलाई समान अवसर दिने लोकतान्त्रिक पार्टी भएको सन्देश दिएको उनको भनाइ थियो।
सम्बोधनको अन्त्यमा सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको औपचारिक शपथग्रहण कार्यक्रम पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जानकारी दिँदै महाधिवेशनबाट प्राप्त ऊर्जा र एकतालाई आगामी राजनीतिक अभियानमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

खगेन्द्र कार्की
प्रतिक्रिया