विश्व प्रेस स्वतन्त्रता दिवसमा विविध कार्यक्रम

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी ।  शनिबार विश्वभर प्रेस विश्व स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी मनाइयो । स्वतन्त्रताको पक्षमा भए गरेका काम र त्यसका विरुद्धमा भएका कुराहरुलाई उजागर गर्दै प्रभातफेरी देखि विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाइएका छन् ।
झापाको बिर्तामोडमा पत्रकार महासंघ झापाले कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा विभिन्न राजनीतिक दलहरुले साझा प्रतिबद्धता जाहेर गरेका छन् । झापा शाखाद्धारा आयोजित ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिवद्धता’ विषयक अन्तरसंवादमा प्रतिबद्धता व्यक्त गरेका हुन ।
संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारमै कार्यान्वयनका लागि प्रतिबद्ध छौं । साथै प्रेस स्वतन्त्रताको सम्मान, रक्षा र कार्यान्वयनका लागि सरकारसहित सबै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । यस्तै राज्यका तीनै तहमा सञ्चार सम्बन्धी कानूनहरु पूर्णरुपमा बनाएर कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदछौं । साथै झापाका १५ वटै स्थानीय सरकारलाई एक वर्षभित्र सञ्चार कानून निर्माण र कार्यान्वयन गर्न अपिल समेत गरेका छन् । सो प्रतिबद्धतामा चैत्र १५ को काठमाडौंको तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्याको छानविन गर्न, परिवारलाई क्षतिपूर्ति दिन, घाइते पत्रकारको निःशुल्क उपचार र क्षति पुर्याइएका सञ्चार माध्यमलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण लगायत झापाका पत्रकारको स्तर बृद्धि, संरक्षण, साथ सहयोगका प्रतिबद्धता आएका छन् ।
‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाइएको हो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ ।
यसैगरी पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा आयोजना गरेको कार्यक्रमबाट झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । २५ हजार २५ रुपैयँँ पुरस्कार राशिको सो पुरस्कार भण्डारीलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संयुक्त रुपमा प्रदान गरे ।
यसैबीच एक लाख एक सय रुपैयाँ पुरस्कार राशिको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर वुढाथोकीलाई प्रदान गरिएको थियो । सो पुरस्कार मुख्यमन्त्री कार्की र बिराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले संयुक्त रुपमा कार्कीलाई प्रदान गरेका थिए ।
यसैगरी पत्रकार किशोर बुढाथोकीलगायत ६० वर्ष उमेर पुगेका पत्रकार यज्ञ शर्मालाई सम्मान गरेको छ । त्यस्तै महासंघ मोरङले तयार पारेको क्यालेण्डर महागर प्रमुख कोइरालाले लोकर्पण गरेका हुन् ।
‘पत्रकारिता क्षेत्र असुरक्षित’
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको बताएकी छन् ।
शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गर्दै उनले पछिल्लो समय पत्रकारिताको क्षेत्र सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताइन् । उनले भनिन्, ‘पेशागत असुरक्षाका कारण पत्रकारले पेशामा भोग्नु परेको समस्याहरु पनि हामीले उल्लेख गरेका छौ यो वर्ष अझ बढि पत्रकारहरुका लागि पेशामा सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया