दमक नगरपालिका न्यायिक समितिका कानुन अधिकृत बस्नेतको दुर्घटनामा निधन, आज १ बजे कनकाईमा दाहसंस्कार हुने, ६ जना घाइतेहरु खतरामुक्त

खगेन्द्र कार्की

दमक । नगरपालिकको असल अभ्यास आदानप्रदान कार्यक्रम सकेर फर्किएका दमक नगरपालिकाको टोली चढेको स्कारपियो गाडी उदयपुर जिल्लाको कटारीमा दुर्घटना हुँदा एकजनाको मृत्यु र ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नपाका कानुन अधिकृत माधव बस्नेत रहेका छन् । घाइतेहरु विराटनगरको न्युरो अस्पतालमा उपचारार्थ दमक वडा नं. १० का वडाअध्यक्ष राजेन्द्रप्रसाद भण्डारी, ६ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य कमल कुमार श्रेष्ठ, अधिकृत भुवन दाहाल, अमिन ज्ञानेन्द्र गौतम, कानुन सहायक नविन खतिवडा र चालक देवेन्द्र तामाङ रहेका छन् ।


सख्त घाइते वडाअध्यक्ष राजेन्द्रको अनुहारमा गम्भिर चोट लागेको, वडा सदस्य कमलको हात र करङ भाँचिएको, अमिन ज्ञानेन्द्रको ५ वटा करङ भाँचिएको जनाइएको छ । उनीहरुको अप्रेसन भईसकेको छ । सबै जना खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
वार्षिक कार्यक्रम भित्रै रहेको अन्तर नगरपालिका स्तरीय असल अभ्यास आदानप्रदान कार्यक्रमका लागि दुई वटा गाडीमा १२ जनाको टोली भरतपुर महानगरपालिका, वालिङ, पुतलीबजार, तानसेन, सिद्धार्थनगर, तिलोत्तमा नगरपालिका पुगेर प्रत्येक पालिकाहरुमा कार्यक्रम गर्दै एक अर्का पालिकाका भए गरेका काम तथा अनुभव साटासाट गरिएको थियो । भ्रमण अत्यन्तै उपलब्धीमूलक रहेको कुरा दमक नपा उपप्रमुख तथा न्यायिक समिति संयोजक रेगिना भट्टराई प्रसाईले बताइन् । तर अप्रत्यासित रुपमा भएको दुर्घटनाप्रति भने दुःख व्यक्त गर्दै कार्यक्रम खल्लो भएको बताईन । कार्यव्यस्तताका कारण आफु सवार गाडी टोलीलाई जिम्मा लगाएर अघिल्लै दिन भरतपुरबाट काठमाडौं हुँदै विराटनगरको बिहीबारको कार्यक्रममा उनी आइपुगेकी थिईन । उनले छोडेको गाडी दुर्घटनाको गाडी भन्दा ३० मिनेट पछाडि आइरहेको थियो ।
रहेनन् माधवप्रसाद बस्नेत
दमक । दमक ३ निवासी माधव प्रसाद बस्नेतको बिहीबार भएको कटारी दुर्घटनामा निधन भएको छ । लामो समयदेखि दमक नगर पालिकामा विभिन्न पदमा रहँदै अधिकृत भईसकेका बस्नेत न्यायिक फाँटको प्रमुख रहेका थिए । अत्यन्तै मिलनसार, शान्त स्वभावका धनी ५७ वर्षीय बस्नेतका १ श्रीमति, एक छोरा र एक छोरी रहेका छन् । छोरा र छोरी अष्ट्रेलियामा अध्ययन गरिरहेका छन् । छोरीको भने विवाह भईसकेको छ । अष्ट्रेलियाबाट शुक्रबार बेलुकाको राती काठमाडौं आइपुग्ने र आज ७ः३० बजे काठमाडौंबाट विराटनगरको लागि टिकट लिई सकिएको बुझिएको छ । छोराछोरी आइपुगेपछि १ बजे कनकाई नदीमा दाहसंस्कारका लागि लगिने पारिवारिक स्रोतले बताएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया