सुनसरीमा ८२ प्रतिशत धान रोपाइँ, झापामा ७७ प्रतिशत

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी। सुनसरी जिल्लामा साउनको पहिलो सातासम्म ८२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। असारभरि पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि किसानले बोरिङ, पैनी र नहरको पानीको सहायताले अधिकांश खेतमा धान रोपाइँ गरेका हुन्।

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा ८१ हजार ७५६ हेक्टर खेतीयोग्य जमिनमध्ये ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। हालसम्म ८२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको उनले जानकारी दिए। उनका अनुसार असार महिनाभर पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो भए पनि पछिल्लो समय किसान रोपाइँमा व्यस्त छन्।

यता, नेपालको प्रमुख धान उत्पादन जिल्ला झापामा हालसम्म ७७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार साउन ४ गतेसम्म जिल्लाको ७७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो, जुन गत वर्षको यही अवधिको तुलनामा करिब ११ प्रतिशत बढी हो।

सुरुआती चरणमा वर्षा अभावका कारण रोपाइँ प्रभावित भए पनि असारको दोस्रो सातादेखि लगातार वर्षा भएपछि किसान धमाधम रोपाइँमा जुटेका हुन्। हाल गौरीगञ्ज क्षेत्रमा रोपाइँ तीव्र गतिमा भइरहेको छ भने साउन महिनाको अन्त्यसम्म अधिकांश खेतमा रोपाइँ सकिने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

झापामा प्रत्येक वर्ष करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यस वर्ष समयमै वर्षा भएकाले धान उत्पादनसमेत राम्रो हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया