नेपाली सेनाको २६३औँ स्थापना दिवसको अवसरमा फोटो तथा सैन्य सामग्री प्रदर्शनी

सुप्रिया राई

इटहरी । नेपाली सेनाको २६३औँ स्थापना दिवस तथा महाशिवरात्रिको अवसरमा इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा आयोजना गरिएको दुईदिने फोटो तथा सैन्य सामग्री प्रदर्शनीकाे उद्घाटन   गरिएको छ।

दुई दिन सम्म हुने प्रदर्शनीको  काेशी  प्रदेश प्रमुख  पर्शुराम खापुङले रिबन काटेर  औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटनपछि उनले सेनाद्वारा राखिएका विभिन्न स्टलहरूको अवलोकन गरेका थिए।

पूर्वी पृतना हे.क्वा. इटहरीको आयोजनामा ब्यारेक हाताभित्र सञ्चालन भएको उक्त प्रदर्शनीको पहिलो दिन झापा, सुनसरी, मोरङ र धनकुटाका विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिसहित करिब २५ सयको हाराहारीमा सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रदर्शनीमा नेपाली सेनाले प्रयोग गर्दै आएका आधुनिक तथा ऐतिहासिक हतियार, सैन्य उपकरण, विपद् व्यवस्थापन सामग्री तथा सेनाले निर्माण गरेका भौतिक संरचनाका तस्बिरहरू राखिएका छन्। अवलोकनकर्ताले सेनाको अनुशासन, प्रविधि र सेवाभावलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए।

कार्यक्रममार्फत नेपाली सेनाको ऐतिहासिक यात्रा, शान्ति स्थापना अभियान, विपद् उद्धार, विकास निर्माण तथा राष्ट्रसेवामा गरेको योगदानबारे फोटो प्रदर्शनीमार्फत जानकारी गराइएको थियो। साथै, भर्ना छनोट प्रक्रिया, करियर अवसर र सैनिक जीवनशैलीसम्बन्धी सूचनाले विशेषगरी युवाहरूलाई प्रेरित गरेको जनाइएको छ।

प्रदर्शनीका मुख्य आकर्षणमा सेनाको इतिहास झल्काउने दुर्लभ तस्बिरहरू, सैनिक उपकरण, विपद् व्यवस्थापन सामग्री राखिनुका साथै नाचगान,युद्धकलाहरु रहेका छन् ।

सुप्रिया राई
प्रतिक्रिया