परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेका नेपाली राजदूत तथा स्थायी प्रतिनिधि पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। 'राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५' (२०७९ सम्मको संशोधन सहित) को आधारमा मन्त्रालयले बिहीबार विस्तृत कार्यविवरण सार्वजनिक गर्दै दरखास्त मागेको हो। मन्त्रालयद्वारा जारी सूचना अनुसार राजदूत पद राजपत्रांकित विशिष्ट श्रेणी सरहको हुनेछ र यसको कार्यकाल कार्यभार सम्हालेको मितिबाट बढीमा चार वर्षको रहनेछ। इच्छुक उम्मेदवारहरूले सन् २०२६ जुन ५ तारिख साँझ ५ बजेसम्म आफ्नो व्यक्तिगत विवरण सहित मन्त्रालयमा आवेदन दिन सक्नेछन्। यसअघि सरकारले आफूखुसी राजदूत नियुक्ति गर्दै आएकामा यसपटक प्रतिस्पर्धाको आधारमा नयाँ प्रयोग गर्न लागेको हो ।
००००
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच बिहीबार टेलिफोन वार्ता भएको छ।
कुराकानीका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै नेपाल सरकारसँग निकट रहेर काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता दोहोर्याएको परराष्ट्र मन्त्रालयले एक्समार्फत जानकाररी गराएको छ । मन्त्री खनालले बधाईका लागि धन्यवाद ज्ञापन गर्दै नेपालको समग्र विकासमा अमेरिकाले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।
००००
पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ ।
दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मापन केन्द्रमा भएको अभिलेखअनुसार बिहीबार सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव सात डिग्री मापन भएको छ । यस्तै नेपालगञ्जमा ३८ दशमलव दुई डिग्रीसम्म तापक्रम पुगेको छ ।
००००
राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गरेपछि राजनीतिक तथा कानूनी वृत्तमा नयाँ बहस शुरू भएको छ ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई समेत मानवअधिकार उल्लंघनको आरोपमा कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगकी सदस्य लिली बस्न्यात थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन आयोगको बोर्डबाट अनुमोदन भएपछि बुधबार सार्वजनिक गरिएको हो ।
प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा विद्यार्थी, प्रहरी, प्रदर्शनकारी तथा कैदीबन्दीसहित ७६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
आयोगले तत्कालीन प्रधानमन्त्री ओली तथा मन्त्रीद्वय लेखक र गुरुङले मानवअधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ । तर, हाल प्रचलित कानूनमा उनीहरूलाई मानवअधिकार उल्लंघनका आधारमा सजाय गर्ने स्पष्ट व्यवस्था नरहेको आयोगको भनाइ छ ।
त्यसैले मानवता तथा मानवअधिकारविरुद्धको अपराधमा पश्चातदर्शी कानून बनाएर भए पनि कारबाही गर्नुपर्ने सिफारिस गरिएको छ ।
००००
नेकपा एमाले मोरङले पार्टीबाट निर्वाचित भएर अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई जना वडाध्यक्षको पद खारेज गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
एमाले मोरङका जिल्ला सचिव सोमराज थापाका अनुसार, रंगेली नगरपालिका–१ का वडा अध्यक्ष महेश खनाल र लेटाङ नगरपालिका–४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले पार्टी त्याग गरी अन्य दलमा लागेपछि उनीहरूको पद रिक्त गर्न कानूनी प्रक्रिया अगाडि बढाइएको हो।
यसैबिच निर्वाचन आयोगले दुई जना जनप्रतिनिधिलाई पदमुक्त गरेको छ ।
दल त्याग गरेपछि नेपाली मुसिकोट नगरपालिका-२ का वडाध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पदमबहादुर बिष्टको पद रिक्त भएको आयोगले जनाएको छ ।
२०७९ सालको निर्वाचनमा उनीहरू नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । दल परित्याग गरेपछि उनीहरूको पद रिक्त भएको हो ।
००००
नेपाली कांग्रेसले गत भदौ २३–२४ गतेको आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई सरकारले गम्भीर रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
आयोगले प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आन्दोलनका क्रममा भएको हिंसा, अत्यधिक बल प्रयोग तथा त्यसमा संलग्न व्यक्ति र निकायमाथि निष्पक्ष अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको हो ।
००००
आगामी एसियाली खेलकुदको महिला क्रिकेट छनोट प्रतियोगितामा बिहीबार नेपालले इन्डोनेसियालाई चार विकेटले हराएको छ ।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि, आफ्नो पहिलो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो ।
लगातार दोस्रो जितसँगै नेपाली टोली समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ ।
००००
यदि तपाईं भूमिहीन दलित, भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोवासी हुनुहुन्छ भने एउटा खुसीको खबर छ ।
वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले भूमिहीनहरूलाई बढीमा डेढ वर्षभित्र जग्गाको लालपुर्जा हातमै थमाउने गरी तयारी अगाडि बढाएको छ ।
सम्बन्धित जिल्लाभित्रै जग्गा खोजेर सरकारले तपाईंलाई भूमिको मालिक बनाउने तयारी गरेको हो ।
भूमिहीनलाई जग्गा उपलब्ध गराउने गरी तयारी अगाडि बढेको यो पहिलोपटक भने होइन ।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खारेज गरेको थियो ।
पछि सर्वोच्च अदालतले सरकारको निर्णय उल्ट्याएर भूमि आयोगलाई ब्युँताइदियो । तर, पछि वालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेश ल्याएर भूमि ऐन संशोधन गरी ती आयोगहरू वैधानिक रूपमा खारेज गरेको छ ।
००००
नेपालका रवीन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता रोड टु यूएफसीको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रवीन्द्र यूएफसी सिजन ५ को सेमिफाइनलमा पुगेका हुन् ।
००००
नेपाली कांग्रेसले संघीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकमा संसद्मा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको छ ।
००००
नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा साबिक विजेता इरानसँग पराजित भएको छ ।
बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित बन्न पुग्यो ।
००००
सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले उक्त धारण राखेका हुन् ।
००००
काठमाडौंको सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गरिएको नयाँ समानान्तर ट्याक्सीवे सञ्चालनमा ल्याइएको छ ।
नयाँ ट्याक्सीवे ‘पी’ तथा रनवे २० तर्फका ट्याक्सीवे ‘एस’ र ‘टी’ बिहीबार बिहानदेखि सञ्चालनमा ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
००००
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् । बजेट शुक्रबार आउँदैछ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो