मानिस केवल शरीरले मात्र सामाजिक प्राणी होइन, ऊ भावनाले जोडिएको अस्तित्व पनि हो । समाजको वास्तविक सुन्दरता केवल ठूल्ठूला भवन, प्रविधि वा आर्थिक प्रगतिमा मापन हुँदैन; त्यो त मानिसहरूबीचको व्यवहार, आत्मीयता, संस्कार र सम्बन्धको न्यानोपनमा झल्किन्छ । नेपाली समाजको मौलिक पहिचान पनि यस्तै आत्मीय सम्बन्ध, सम्मानपूर्ण व्यवहार र हार्दिक अभिवादनमा आधारित थियो । तर आज समयसँगै त्यो संस्कार विस्तारै परिवर्तन हुँदै गएको छ ।
एक समय थियो, जब गाउँका बाटाहरूमा भेट हुँदा मानिसहरू मुसुक्क हाँस्थे । “नमस्कार” केवल एउटा शब्द थिएन, त्यो सम्मान, अपनत्व र आत्मीयताको प्रतीक थियो । दुई हात जोडेर, आँखामा आँखा जुधाएर गरिने अभिवादनले मनभित्रको सद्भाव प्रकट गथ्र्यो । त्यहाँ औपचारिकता कम, आत्मीयता बढी हुन्थ्यो । हजुरबा(हजुरआमा, छिमेकी, साथीभाइ वा बाटोमा भेटिएका अपरिचित मानिससँग पनि नम्र व्यवहार गर्ने संस्कार नेपाली समाजको गहना थियो ।
तर आज प्रविधिको तीव्र विकाससँगै मानिसको जीवनशैली मात्र होइन, सम्बन्धको स्वरूप पनि बदलिँदै गएको छ । अहिले मानिसहरू भेटभन्दा बढी मोबाइल स्क्रिनमा व्यस्त देखिन्छन् । अभिवादनका हात एकातिर हुन्छन्, तर अनुहार अर्कैतिर फर्किएको हुन्छ । नमस्कार गरिन्छ, तर आँखाले एकअर्कालाई स्पर्श गर्दैनन् । मुस्कान हराउँदै गएको छ । आत्मीय संवादको ठाउँमा औपचारिक प्रतिक्रिया मात्र बाँकी रहन थालेको छ ।
त्यति मात्र होइन कतिपय युवाहरु आफ्ना काका, बढाउ, दाजुहरु प्रति गरिने सम्मानमा निहुरिन चाहँदैनन । सबैलाई एक मुष्ठ अभिवादन गरेर अलिकति शिर झुकाउनु र छातीमा हात राख्न थालेका छन् । अभिवादनको नयाँ रुपमा कसैले नमस्कार गरिहाल्यो भने दुई हात जोड्ने प्रचलन पनि हराइसक्यो । मुखले नमस्कार वा नमस्ते भन्यो हात जोड्ने चलन छैन यसो मुन्टो झुकाएर छातीमा हात राख्दैमा ठूलो सम्मान ठहरिन थालेको छ ।
यो परिवर्तन सामान्य देखिए पनि समाजशास्त्रीय दृष्टिले निकै गम्भीर संकेत हो । संयुक्त राष्ट्रसंघ र विभिन्न सामाजिक अध्ययनहरूले पछिल्ला वर्षहरूमा डिजिटल निर्भरता बढेसँगै मानिसहरूबीच प्रत्यक्ष संवाद घट्दै गएको देखाएका छन् । विशेषगरी युवापुस्तामा “सामाजिक दूरी” केवल भौतिक मात्र होइन, भावनात्मक रूपमा पनि बढिरहेको तथ्य विभिन्न अनुसन्धानहरूले औंल्याएका छन् । मानिसहरू सामाजिक सञ्जालमा हजारौं साथी बनाइरहेका छन्, तर वास्तविक जीवनमा आत्मीय सम्बन्ध घट्दै गइरहेका छन् ।
नेपालजस्तो संस्कारप्रधान समाजमा अभिवादन केवल शिष्टाचार होइन, सामाजिक संरचनाको आधार थियो । “ढोग गर्ने”, “नमस्ते भन्ने”, “आशीर्वाद लिने” संस्कृतिले पुस्ताबीच सम्मान र सम्बन्धको पुल निर्माण गरेको थियो । तर अहिले त्यो अभ्यास कमजोर बन्दै गएको छ । मोबाइलमा व्यस्त सन्तान र संवाद खोजिरहेका अभिभावकबीचको दूरी केवल उमेरको होइन, संस्कारको दूरी पनि हो ।
प्रविधि आफैं खराब होइन । यसले संसारलाई नजिक ल्याएको छ, ज्ञानको पहुँच विस्तार गरेको छ, जीवन सहज बनाएको छ । तर जब प्रविधिले मानवीय सम्बन्धलाई विस्थापित गर्न थाल्छ, तब समस्या सुरु हुन्छ । अहिले एउटै घरभित्र बसेका मानिसहरू पनि फरक(फरक स्क्रिनमा हराइरहेका छन् । परिवारसँगको संवाद घट्दै गएको छ । चाडपर्वमा सामूहिक भेटघाटभन्दा “स्टाटस अपडेट” बढी महत्वपूर्ण हुन थालेको छ ।
अभिवादनको शैली बदलिनु केवल व्यवहारको परिवर्तन मात्र होइन, त्यो समाजको भावनात्मक संरचना बदलिनुको संकेत पनि हो । जब मानिसले मानिसलाई हेर्न छोड्छ, तब सम्बन्धहरू पनि औपचारिक बन्दै जान्छन् । आँखामा आँखा जुधाएर गरिने नमस्कारमा जुन विश्वास, सम्मान र आत्मीयता हुन्थ्यो, त्यो इमोजी र डिजिटल प्रतिक्रियाले कहिल्यै दिन सक्दैन ।
हामीले आज प्रविधिको प्रयोग गरिरहेका छौं, तर कतै प्रविधिले हामीलाई प्रयोग त गरिरहेको छैन ? यो प्रश्न अब गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ । यदि यही अवस्था रहिरह्यो भने भविष्यमा मानिसहरू एउटै कोठामा बसेर पनि भावनात्मक रूपमा टाढा हुनेछन् । सम्बन्ध रहनेछन्, तर सम्बन्धमा आत्मा हराउनेछ ।
त्यसैले अब आवश्यक छ( प्रविधिसँगै मानवीय संस्कारको संरक्षण । आधुनिक बन्नु गलत होइन, तर आधुनिकताको नाममा आत्मीयता गुमाउनु दुःखद हो । हामीले फेरि मुस्कान फर्काउनुपर्छ । नमस्कारलाई केवल औपचारिक शब्द होइन, हृदयको भाषा बनाउनुपर्छ । बालबालिकालाई केवल मोबाइल चलाउन होइन, सम्मानपूर्वक अभिवादन गर्न पनि सिकाउनुपर्छ ।
किनकि समाज प्रविधिले होइन, सम्बन्धले टिक्छ । र सम्बन्धको पहिलो आधार हो( आत्मीय अभिवादन ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो