धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग, ३५ करोड लगानी र ३५० रोजगारी

फाष्ट मिडिया नेपाल संवाददाता

धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग भित्र्याइएको छ। यससँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको छ भने उद्योग पूर्ण सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेका अनुसार उत्पादन नगरी वर्षौंदेखि जग्गा ओगटेर बसेका उद्योगको लिज कानुनी प्रक्रिया पूरा गरेर रद्द गरिएको हो। सम्पत्तिको मूल्याङ्कन, सार्वजनिक प्रस्ताव आह्वान र लिज हस्तान्तरण प्रक्रिया पूरा गरेपछि नयाँ उद्योगसँग सम्झौता गरिएको उनले बताए।
नयाँ उद्योगमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिज रहेका छन्। सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने अन्तिम स्वीकृतिको चरणमा रहेको छ। यसअघि नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता रद्द गरिएको थियो।
नयाँ उद्योगहरूले पानीका मिटर तथा फिटिङ सामग्री, स्टिल तथा निर्माण सामग्री, खाद्यान्न र पशु आहार तथा विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्नेछन्। उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले नयाँ उद्योग भित्र्याइएको प्रमुख बञ्जाडेको भनाइ छ। केही उत्पादन निर्यातको सम्भावना पनि रहेको उनले बताए।
वि.सं. २०३२ देखि सञ्चालनमा रहेको धरान औद्योगिक क्षेत्र २०२ रोपनी क्षेत्रफलमा फैलिएको छ। हाल यहाँ ३५ उद्योगमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा छन्। सञ्चालनमा रहेका उद्योगमार्फत करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट २ अर्ब रुपैयाँभन्दा बढी र सरकारी क्षेत्रबाट १ अर्ब ७० करोड रुपैयाँभन्दा बढी लगानी रहेको कार्यालयले जनाएको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया