अव्यवस्थित तार मानवीय क्षतिको कारक बन्दै

फाष्ट मिडिया नेपाल संवाददाता

नवराज भट्टराई

उर्लाबारी । गत सोमबार पाथीभरा दर्शन गर्ने यात्रु बाकेर जाँदै गरेको जीपमा पोलबाट लत्रिएको तारले करेन्ट लाग्दा जलेर चार जनाको मृत्यु भयो । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट काफ्लेपाटी जाँदै गरेको जीप जलेको थियो । पाँचजना यात्रु लिएर जाँदै गरेको जीपमा सेवारो चोक नजिक करेन्ट लागेको थियो । मृत्यु हुनेमा झापा भद्रपुरका विनोद पौडेल, सरिता पौडेल र उनीहरुकी नातिनी ललितपुर निवासी आध्या आचार्य र जीप चालक ताप्लेजुङ फुङलिङ निवासी दुर्गा भट्टराई छन् । उक्त दुर्घटनामा परेर सविना पौडेल आचार्य सख्त घाइते भइन् ।

यता, मोरङको विराटचोकमा इन्टरनेटको तार विस्तार गर्ने क्रममा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भयो । सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकस्थित चाँदनी पेट्रोल पम्पनजिक बिजुलीको पोलमा चढेर इन्टरनेटको तार विस्तार गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका इलामको चुलाचुली गाउँपालिका–३ का अन्दाजी २८ वर्षीय राजेश लावतीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

यी उदाहरण मात्र हुन् । सार्वजनिक स्थलमा घट्ने यस्ता घटना अहिले बढिरहेका छन् । अव्यवस्थित तारका कारण दैनिक सामान्यदेखि मानिसको ज्यान जानेसम्मका दुर्घटना भइरहेका छन् । तारमा अल्झिएर पैदल यात्रु तथा मोटरसाइकल तथा सवारीसाधन दुर्घटनामा पर्ने सम्भावना अधिक छ । सडक क्षेत्रमा अव्यस्थित रुपमा टाँगिएका तारले सवारी दुर्घटना बढाएको छ नै जिम्मेवार निकायबीच आपसी समन्वय नहुँदा सहरी सौन्दर्य समेत गुमेको छ । विभिन्न क्षेत्र विद्युत्, टेलिफोन, केवलका तार अव्यवस्थित रुपमा टाँगिएको र तल्लो तहमा टाँगिएकाले ठूला सवारीलाई छुने गरेको छ । जसका कारण जोखिम बढेको छ ।

कतिपय स्थानमा चुँडिएका तार झुन्डिएर बसेका छन् भने कतिपय स्थानमा तारका गुजुल्टो नै अव्यवस्थित रुपमा देखिएको छ । झापा, मोरङ, सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा यत्रतत्र यस्ता समस्या रहेका छन् । अव्यवस्थित रुपमा तार टाँगिएको गुनासो आएपछि तार व्यवस्थापन गर्न मोरङको उर्लाबारी नगरपालिकाले पहल कदमी लिएपनि यो समस्याको समाधान हुन सकेको छैन । गत वर्ष इन्टरनेट प्रदायक संस्थासँग विभिन्न चरणमा छलफल गरेर तार हटाउने सहमति भएपनि ती संस्थाले अटेर गर्दै आएका कारण सहमति कार्यान्वयन हुन सकेको छैन । विद्युत् पोलमै विभिन्न इन्टरनेटका तार टाँगिएकाले कुनै बेला तार गाडीमा अड्किँदा विद्युत् प्रवाह भएर ज्यान जाने अवस्था समेत निम्तने खतरा बढ्दो छ ।

अव्यवस्थित तारका कारण केही समयअघि उर्लाबारी–६ मा विद्युतको पोलमै आगलागी भयो । नगर, गल्ली सबैतिर विद्युतका अव्यवस्थित तारका कारण कहिले ठूलो दुर्घटना हुने हो भन्ने चिन्तामा स्थानीय बासिन्दा छन् । यति हुँदाहुँदैपनि विद्युत कार्यालयको ध्यान अझैसम्म जान सकेको छैन । ‘यो एउटा टोलको मात्रै समस्या होइन, सबैतिरको समस्या हो’, नेकपा एमाले उर्लाबारीका अध्यक्ष निरोज तिम्सिना भन्छन्, ‘आज हो कि भोलि आगलागी हुने र दुर्घटना हुने चिन्ता छ, यसतर्फ विद्युत कार्यालयको ध्यान जान नसक्नु विडम्वनापूर्ण छ ।’

अव्यवस्थित तारका कारण दुर्घटनाको डर बढेको मात्रै होइन, विशेषगरी सुन्दर नगरलाई कुरुप बनाइदिएको तिम्सिनाको भनाई छ । सुन्दर घरहरुलाई नै कुरुप बनाउने गरी सबैतिर माकुरोको जालो जस्तै रहेका तारहरुले आकर्षक घरलाई मात्रै होइन, सिंगो नगरलाई नै कुरुप बनाइदिएको छ । उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल नगरलाई कुरुप बनाउने काम विद्युत, इन्टरनेटका तारहरुले गरेका कारण तारलाई व्यवस्थित गर्ने योजना रहेको बताउँंछन् । विद्युतका साथै टेलिफोन, इन्टरनेट, केवल टेलिभिजनलगायतका तारहरु पनि व्यवस्थित गर्छौं । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया