नेपालमा जेमा पनि राजनीति, राजनीति, राजनीति सर्वत्र राजनीतिले गाजेको छ । परिवार , समाजदेखि लिएर जुनसुकै क्षेत्रमा पनि जब राजनीतिले घेराबन्दी गर्यो नि त्योनै अहिले बाधक बन्न पुग्यो । राजनीतिमा चलखेल गर्ने रोगी मानसिकताले गर्दा आज कुनैपनि क्षेत्र अछुतो रहेन । अराजनीतिक गतिविधिले गर्दा सबै क्षेत्र तहसनहस छ । यहाँ कोहि कसैले कसैको कुरा सुन्नेवाला छैन सबै आआफ्नै तरिकाले चलेका छन । ठूलालाइ मानसम्मान कसैले गर्दैन, यहाँ । बेथिति यति बढ्दो छ कि यसलाई पूर्ववत अवस्थामा ल्याउन सक्ने हिम्मतवाला ब्यक्ति अब टस लगाएर खोज्दापनि भेटिन्न । राजनीतिले आज सामाजिक, धार्मिक, मानवीय, विभिन्न संघ–संस्थालाई समेत छोएको छ । हो, आज यिनै विविध बिषयबस्तु अन्तर्गतको मानवीय संस्था रेडक्रसको बारेमा वस्तुतथ्य बिषयवस्तु उठान गर्दैछु । रेडक्रस सोसाइटी विशुद्ध मानवीय सेवा र प्रवद्र्धन गर्ने उदेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था हो ।
प्राकृतिक एवम् मानवीय कारणले हुने ठूला विपत्तिहरुको पहिलो साथी रेडक्रस हो । यस्तो कल्याणकारी संस्थाको स्थापना स्विस नागरिक जा हेनरी ड्यूनाले गरेका हुन । अन्तर्राष्ट्रिय रेडक्रस स्थापना भएको करिब एकसय बर्षपछि नेपालमा २०२० भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो । मूख्यत ः स्थापनाकालदेखि सेवाभाव, विपत्तिमा मानवीय सहायता गर्ने मूल मन्त्र बनाएको यो संस्थाले अहिले धेरै उचाई लिएको छ । यो मानिसभित्र भएका असल भावना र अभिव्यक्तिको रुपमा जन्मिएको एक संगठन हो । उ सङ्ग त कुनै स्वार्थ छ न त कुनै आफ्नोपन खोज्छ । छ त केवल सेवाभाव र केवल सहायता मात्र, हरपल हरेक मानिसको दुःखमा साथ दिनका लागि अगाडि सर्छ । यतिमात्र होइन सेवाभावको उदेश्यले अघि बढेको यो संस्थाले प्रमुखत ः रेडक्रस अभियानका सात सिद्धान्तहरु मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्व ब्यापकतामा आधारित रही स्थापना भएको संस्था हो । यसको उदेश्य धर्म, वर्ण, लिङ्ग, वर्ग, जाति, भाषा, भूगोल, राष्ट्रियता वा राजनीतिक आस्थाका आधारमा भेदभाव नगरी मानवीय विपत्ति र पीडालाई रोकथाम, न्यूनीकरण, निवारण गर्ने एवम मानव जीवन र मर्यादाको संरक्षण गर्ने हो । यही मूल मन्त्रमा प्रतिवद्द रही रेडक्रस र यस मातहतका शाखाहरुले विभिन्न कल्याणकारी कामहरु गर्दै आएका छन । रेडक्रस मानवताको पुजारी हो । जसरी घाउलाई मलमपट्टिको आवश्यकता पर्दछ त्यसरीनै मानिसको जीवनमा रेडक्रस सोसाइटीको आवश्यकता पर्छ । अहिले यो मानव जीवनको अङ्गझैं बनेको छ । यो संस्थाभित्र मितब्ययिता, आन्तरिक सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने, गराउने विषयमा ध्यान दिन आवश्यक छ । यो संस्था मानव जीवनका लागि दैवी विपत्ति, प्राकृतिक प्रकोप रोकथामका लागि चिरस्थायी रूपमा लागिरहने एउटा सामाजिक संस्था हो । यसले सम्पूर्ण मानव – मानवका बिच पारस्परिक समझदारी, मित्रता, सहयोग र चिरस्थायी शान्तिको अभिबृद्दि जीवनदेखि मरणोपरान्तसम्म गरिरहने सबैभन्दा ठूलो संस्था हो । यसले कुनै शत्रुता पूर्ण संघर्षमा भाग नलिइ कुनैपनि समयमा राजनीतिक, जातीय, धार्मिक अथवा वैचारिक खालका कुनैपनि विवादमा कसैकोपनि पक्ष नलिइ मानव हित र संरक्षणका लागि दिलो ज्यान दिएर लागिरहन्छ त्यसैको वरिपरि रेडक्रसका पदाधिकारीहरु जुटिरहन्छन त्यो त हामीले देखेकै कुरा हो । त्यसैले रेडक्रस एउटा स्वतन्त्र संस्था हो जसमा सरकारको मानवीय सेवा कार्यको सहयोगी संस्थाको रूपमा काम गर्न र आफ्नो देशको ऐन, कानुनको पालना गरेर जनताको स्वास्थ्य प्रति गहन जिम्मेवारी बहन गरेर काम गरिरहेका हुन्छन । त्यसमा पनि रेडक्रस स्वेच्छाले अरुको भलाइ गर्ने संस्था भएको हुनाले यसमा आवद्ध रहेका पदाधिकारीहरुले कुनै किसिमको लाभको इच्छाले पदभार ग्रहण गरेका हुँदैनन । यो संस्था सबैका लागि खुला र यसको सम्पूर्ण क्षेत्र भित्र आफ्ना मानवीय कार्यहरुको संचालन गरि सबैको समान कर्तव्य निर्वाह गर्न एकता र विश्व ब्यापकताका लागि जुटिरहेको हुन्छ । आज सम्म जान्दाजान्दै रेडक्रस जस्तो मानवीय संस्थामा नेपाली राजनीतिको गन्धको सुरुवात हुनु कति लज्जास्पद कुरा हो । यो प्यानल त्यो प्यानल हाम्रो मान्छे अर्को प्यानलको मान्छे भनेर चुनावी प्रतिस्पर्धामा जाने परिपाटी पहिले थिएन तर अहिले यो क्रम दिनप्रतिदिन बढदो छ । यसलाई रोक्न कसैलेपनि सकेकै छैन ।
सबैलाई पद चाहिएको छ, न बिषयसङ्ग सम्बन्धित मान्छेहरू छन, न स्वास्थ्यकर्मीहरुको उपस्थिति छ हरेक पदमा । रेडक्रस भनेको के हो ? यसका सिद्धान्तहरु केके हुन ? कस्तो अवस्थामा हामी उपस्थिति हुनुपर्ने हो, आवश्यक परे रक्तदान जीवनदान दिनुपर्छ भन्ने ज्ञानबोध नभएका मान्छेहरुको भीड यो संस्थामा आउन खोजिरहेको अवस्था छ । रेडक्रसमा राजनीति हुनुहुन्न भन्नेहरुको उपस्थिति थोरै छ, यसमा कति भ्रष्टाचार भयो र के हुँदैछ भनेर खोज्ने कोहि छैनन । हामीले समाचार, अनलाइन खबरमा सुने देखेकै कुरा हो केन्द्र, जिल्ला, प्रदेशदेखि लिएर स्थानीय निकायमा पनि भ्रष्टाचार भएको कुरा सुनिएकै हो । यसलाई निराकरण गरेर कसरी अघि बढ्ने ? रेडक्रसमा बढ्दै गएको राजनीतिक वातावरणलाई कसरी हल गर्दै जाने भन्ने बिषयलाइ सानोमसिनो गरेर उठाउन सक्ने नेतृत्व चुन्न सबैले उठान गरौं । विपत्तिको सारथिभित्र राजनीतिक संस्कार बन्द गरौं । जय रेडक्रस , जय मानव सेवा ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो