मेयरको बजेट गुनासोमा नागरिकको प्रश्न– आफ्नै कार्यकालमा आफ्नै सरकार हुँदा चाहि के भयो ?

खगेन्द्र कार्की

इटहरी  । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले संघीय बजेटप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेको स्टाटसले व्यापक चर्चा पाएको छ । उनले बजेटले इटहरीलाई फेरि एकपटक निराश बनाएको भन्दै टेग्रा खोला डाइभर्सन, क्षेत्रीय स्तरको सुविधासम्पन्न अस्पताल, डुबान नियन्त्रण तथा रणनीतिक सडक आयोजनाहरू संघीय बजेटमा समावेश नभएको गुनासो गरेका छन् ।
पौडेलले इटहरीका समस्या नयाँ नभएको उल्लेख गर्दै राष्ट्रिय योजना आयोग, योजना बैंक र सम्बन्धित मन्त्रालयमा पटक–पटक पहल गर्दा पनि परिणाम प्राप्त नभएको बताएका छन् । उनले इटहरी पूर्वी नेपालको व्यापार, शिक्षा, स्वास्थ्य र यातायातको महत्वपूर्ण केन्द्र भए पनि विकासको राष्ट्रिय प्राथमिकतामा नपरेको टिप्पणी गरेका छन् ।
उनको स्टाटसपछि सामाजिक सञ्जालमा भने समर्थन र आलोचना दुवै खाले प्रतिक्रिया आएका छन् । केही प्रयोगकर्ताले इटहरीका महत्वपूर्ण आयोजनाहरू बजेटमा नसमेटिनुलाई राज्यको विकास प्राथमिकतामाथिको प्रश्न भन्दै मेयरको धारणा समर्थन गरेका छन् । उनीहरूले इटहरीको योगदान र आवश्यकताअनुसार बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।
तर धेरैले मेयर पौडेललाई नै प्रतिप्रश्न गरेका छन् । यादव अधिकारीले “हिजोसम्म आफ्नै सरकार हुँदा किन काम भएन ?” भन्दै जिज्ञासा राखेका छन् । भरत चापागाईंले नगरभित्रका सडक, सरसफाइ र सार्वजनिक पूर्वाधार व्यवस्थापनमा अपेक्षित सुधार नभएको टिप्पणी गरेका छन् ।
रोहित घिमिरेले इटहरी–२ को अधुरो सडक निर्माणको विषय उठाउँदै स्थानीय समस्या समाधान नगरी संघीय सरकारलाई दोष दिन नमिल्ने बताएका छन् । मनोज राईले आफ्नो क्षेत्रमा अझै पनि सडकको अवस्था कमजोर रहेको गुनासो गरेका छन् ।
केही प्रतिक्रियाकर्ताले संघीय सरकार र स्थानीय जनप्रतिनिधि दुवैको भूमिकामाथि प्रश्न उठाएका छन् भने केहीले प्रदेश सरकारसँग पनि बजेट माग्न सुझाव दिएका छन् । अर्कोतर्फ, कतिपयले जनप्रतिनिधिहरूले नागरिकका अपेक्षा र गुनासालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
मेयर पौडेलको स्टाटसले संघीय बजेटमा इटहरीले अपेक्षा गरेको आयोजना नपरेको विषयलाई मात्र होइन, स्थानीय विकास, जनप्रतिनिधिको भूमिका र नगरको समग्र अवस्थाबारे नागरिकबीच बहससमेत सुरु गराएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया