हरिशयनी एकादशी आज : तुलसी पूजा र चतुर्मास व्रत सुरु

खगेन्द्र कार्की

इटहरी । सनातन वैदिक परम्पराअनुसार भगवान् विष्णुको शयन आरम्भ हुने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यसै दिनदेखि घरघरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने चतुर्मास व्रत पनि सुरु भएको छ।

हरिशयनी एकादशीका अवसरमा बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। आजको दिन तुलसीको बिरुवा मोठमा सार्ने, फलाहार गरी व्रत बस्ने तथा भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा रहेको छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस अवधिलाई चतुर्मास भनिन्छ। यही कारण आजको एकादशीलाई हरिशयनी एकादशीका रूपमा मनाउने गरिन्छ।

वैदिक परम्पराअनुसार एक वर्षमा पर्ने २४ एकादशीमध्ये सबैमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासभित्र पर्ने आठ एकादशी वा कम्तीमा हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत बस्ने प्रचलन छ। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने चलन रहेको छ।

धार्मिक महत्त्वसँगै तुलसीलाई वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यका लागि उपयोगी वनस्पतिका रूपमा लिइन्छ। तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगको औषधिका रूपमा उपयोग हुने विश्वास रहँदै आएको छ। वास्तुशास्त्रमा पनि तुलसीको मोठले सकारात्मक ऊर्जा प्रवाह गर्ने मान्यता छ।

चार महिनासम्म नियमित पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइने परम्परा रहेको छ। सोही दिन हवनसहित चतुर्मास व्रतको समापन गरिन्छ।

खगेन्द्र कार्की
प्रतिक्रिया