इटहरी । सुनसरीको दुहबी नगरपालिका–२ तुताहास्थित सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा सञ्चालित नवीन शिक्षा निकेतन आधारभूत विद्यालयमा सम्पन्न जिल्लास्तरीय प्रतिभा पहिचान तथा खेलकुद कार्यक्रमले समावेशी शिक्षा र खेलकुदमार्फत फरक क्षमता भएका विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख बेदनारायण गच्छदारले दुहबी नगरपालिकालाई अपाङ्गमैत्री पालिका बनाउने लक्ष्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले फरक क्षमता भएका विद्यार्थीहरूको प्रतिभा उजागर गर्न मद्दत पु¥याउने धारणा व्यक्त गरे ।
प्रधानाध्यापक सुरेन्द्र कुमार चौधरीले सुस्त श्रवण तथा बहिरा विद्यार्थीहरूको क्षमता खेलकुदमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
जिल्लाभरका ८ विद्यालयबीच प्रतिस्पर्धा भएको कार्यक्रममा १२ खेल विधा सञ्चालन गरिएका थिए। १९३ जना विद्यार्थीमध्ये ५७ जनाले उत्कृष्टता प्राप्त गरे — जसमा १९ जना प्रथम, १९ जना द्वितीय र १९ जना तृतीय घोषित भए । सहभागी सबैलाई सहभागिता मेडल, विजेतालाई पदक र सबै विद्यालयलाई सम्मानस्वरूप सिल्ड प्रदान गरिएको थियो ।
सांगीतिक प्रस्तुति र खेलकुद दुवै समावेश रहेको कार्यक्रममा करिब ४०० जनाको उपस्थिति थियो — ८० जना अतिथि र ७ जना विशिष्ट अतिथि सहित ।
“समान अवसर, समान सम्मान, सबै क्षमताको पहिचान, समावेशी खेलकुदबाट उज्यालो भविष्य निर्माण– हाम्रो अभियान” भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत कुमार तामाङको सभापतित्वमा सम्पन्न भयो भने सञ्चालन शिक्षक मनोज कार्कीले गरेका थिए ।
स्वागत मन्तव्य सुनसरी लेखाजोखा संयोजक सम्भु पोखरेलले राखेका थिए ।
विशिष्ट अतिथिमा उपप्रमुख मेनुका पोखरेल, शिक्षा विकास तथा समन्वय इकाइ सुनसरी प्रमुख देवेन्द्र बहादुर मल्ल, शिक्षा शाखा प्रमुख विकास घिमिरे, र महिला, बालबालिका तथा समावेशी शाखा प्रमुख युवन ओझा लगायत उपस्थित थिए ।
यसरी कार्यक्रमले अपाङ्गता भएका विद्यार्थीहरूको क्षमताको सम्मान र पहिचान गर्दै समावेशी र उज्यालो भविष्यको सन्देश दिएको सहभागीहरूको धारणा रहेको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो