जंगी अड्डाले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा विशेष समारोहको आयोजना

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरे । सो अवसरमा शाहको सालिकमा सलामी अर्पण गर्नुका साथै रथीवृन्द, अधिकृत तथा सकलदर्जाबाट पुष्पगुच्छा अर्पण गरिएको थियो ।

पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका आरम्भकालीन पाँच वटा पल्टन ९श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज तथा पुरानो गोरख० को झण्डा र दिपज्योति सहित सुरु भएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर आजै बिहान पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रमा पश्चात् जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहभागी भएको थियो ।

सो समारोह पश्चात् सभामण्डपमा आयोजित कार्यक्रममा प्रा।डा।त्रिरत्‍न मानन्धरले पृथ्वीनारायण शाहको योगदान र दिव्योपदेशको सैनिक पक्षका बारेमा र प्रा।डा। राजाराम सुवेदीले नेपाल एकीकरणमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियताको बारेमा प्रवचन दिएका थिए । यसै गरी नेपाली सेनाका सकलदर्जा, सैनिक विद्यालय तथा राष्ट्रिय सेवादलका छात्रछात्राहरू सम्मिलित कविता प्रतियोगिताका उत्कृष्ट कविताहरूको वाचन एवं रिपुमर्दिनी सैनिक महाविद्यालयका छात्रछात्राहरूबाट राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानबारे लघु नाटक प्रस्तुत गरिएको थियो ।

पूर्व प्रधान सेनापतिहरु, सैनिक श्रीमती संघकी अध्यक्ष, रथीवृन्द, इतिहासविद्हरू लगायत नेपाली सेनाका सकलदर्जा एवं राष्ट्रिय सेवादलमा तालिमरत छात्रछात्राहरूको उपस्थिति रहेको उक्त समारोहको अन्तमा विभिन्न प्रतियोगिताका विजयी एवं निर्णायकहरू र प्रवाचकहरुलाई प्रधान सेनापतिले पुरस्कृत एवं सम्मान गरेका थिए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा नेपाली सेनाले धरानको फुस्रेबाट धनकुटाको पाख्रीबाससम्म ऐतिहासिक साँघुरीगढी पदयात्रा, उदयपुरको उदयपुरगढी(चौदण्डी गढी पदयात्रा र इलामको नागरीगढी देखि माईस्थानसम्म निशान पदमार्ग पदयात्रा लगायतका कार्यक्रमहरू सञ्चालन गरेको थियो । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मुलुकभर एवं विदेशमा समेत नेपाली सेनाका इकाईहरूमा विविध कार्यक्रमहरु आयोजना गरी मनाइएको छ ।

राष्ट्रिय एकता प्रवर्द्धनका यस्ता कार्यक्रमहरूबाट पृथ्वीनारायण शाहको योगदानको सम्मान हुनुका साथै राष्ट्रिय एकताको भावना अझ मजबुत भई इतिहासको जगेर्नामा थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया