जन्तर–मन्तरमा सीजेपी समर्थक हजारौं प्रदर्शनकारी उत्रिएपछि मोदी सरकार संकटमा, ठाउँ–ठाउँमा सरकार विरोधी आन्दोलन चर्कदै

PuNPSBUthePx

नयाँ दिल्ली (एजेन्सी) -प्रतियोगी परीक्षामा भएका धाँधली र अनियमिताको विरोधमा भारतको राजधानी नयाँ दिल्लीमा जारी प्रदर्शन झन् उग्र बन्दै जाँदा प्रधानमन्त्री नरेन्द्र मोदी सरकार संकटमा परेको छ । 

दिल्ली उच्च अदालतको आदेशपछि मङ्गलबार सामाजिक अभियन्ता सोनम वाङचुकलाई गुरुग्रामस्थित मेदान्ता अस्पतालमा सारेपछि केन्द्रीय मन्त्री जे.पी. नड्डा र डा. जितेन्द्र सिंहले उहाँलाई भेटेका छन्।

स्रोतका अनुसार मन्त्रीहरूले सरकारले यसबारे संसद्मा बहस गराउने निर्णय गरेको र शिक्षा सुधारका मुद्दाहरू सम्बोधन भइरहेको आश्वासन दिएका छन्। उनीहरूले वाङचुकलाई सरकारी प्रक्रियामा विश्वास राख्न र विद्यार्थीहरूलाई आन्दोलन थप उग्र बनाउनबाट रोक्न अपिल गर्न आग्रह गरेका छन्।

जन्तर मन्तरमा हजारौँको धर्ना र विपक्षी दलको समर्थन

मङ्गलबार 'संसद चलो' मार्चका क्रममा प्रहरीले गरेको हस्तक्षेपका बाबजुद बुधबार पनि कक्रोज जनता पार्टी (सीजेपी) का समर्थकहरू नयाँ दिल्लीको जन्तर मन्तरमा ठूलो सङ्ख्यामा भेला भइरहेका छन्।

(एनसीपी-शरद पवार) का अध्यक्ष शरद पवार र आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवाललगायतका प्रमुख विपक्षी नेताहरूले आन्दोलनस्थल पुगेर ऐक्यबद्धता जनाएका छन्।

सोसल मिडिया 'एक्स' (X) मार्फत सीजेपीले "शिक्षा मन्त्री धर्मेन्द्र प्रधान कहिले राजीनामा दिन्छन्?" भन्दै प्रश्न गरेको छ र जन्तर मन्तरमा हजारौँ प्रदर्शनकारीहरू उपस्थित रहेको जनाएको छ।

अन्तर्राष्ट्रिय ऐक्यबद्धता र खानाको डेलिभरी

प्रदर्शनकारीहरूको समर्थनमा देशभित्र र विदेशबाट समेत सहयोग जुटिरहेको छ। सयौँ मानिसहरूले अनलाइनमार्फत जन्तर मन्तरको लोकेसन राखेर प्रदर्शनकारीहरूका लागि पिज्जा, बर्गर, ममो र थालीसहितका खानाहरू अर्डर गरी पठाएका छन्।

यस्तै, अमेरिकाको न्युयोर्क र सान जोसेमा 'हिन्दूज फर ह्युमन राइट्स' नामक संस्थाले सोनम वाङचुक र विद्यार्थीहरूको आन्दोलनको समर्थनमा महात्मा गान्धीको सालिकअघि प्रदर्शन गरेका छन्।

सुरक्षा व्यवस्था कडा: २० कम्पनी सीआरपीएफ टोली एयरलिफ्ट

आन्दोलन उग्र बन्दै गएपछि गृह मन्त्रालयको निर्देशनमा पश्चिम बङ्गाल (कोलकाता) बाट केन्द्रीय रिजरभ पुलिस फोर्स (CRPF) का २० अतिरिक्त कम्पनीहरूलाई हवाई जहाजमार्फत तत्काल दिल्ली ल्याइएको छ। जारी संसद् अधिवेशन र प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीको सुरक्षा कडा पारिएको छ।

चारवटा एफआईआर (FIR) दर्ता

प्रदर्शनका क्रममा र्‍यापिड एक्सन फोर्स (RAF) का एक जवानलाई प्रदर्शनकारीहरूले लखेटेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दिल्ली प्रहरीले अनुसन्धान सुरु गरेको छ। दिल्ली प्रहरीका अतिरिक्त उप-आयुक्त (ADCP) आनन्द कुमार मिश्रका अनुसार दङ्गा भड्काएको, सरकारी कर्मचारीमाथि आक्रमण गरेको र सार्वजनिक सम्पत्ति तोडफोड गरेको अभियोगमा अज्ञात व्यक्तिहरूविरुद्ध ४ वटा एफआईआर दर्ता गरिएको छ। यो हिंसा पूर्वयोजित र सङ्गठित रूपमा गरिएको थियो कि थिएन भन्नेबारे गहन छानबिन भइरहेको प्रहरीले जनाएको छ।


PuNPSBUthePx
प्रतिक्रिया