इटहरी । तीन दिन अघिबाट सुरु भएको झरी बढेर चौबीस घण्टामा सुनसरी, मोरङ, झापासहित देशैभरि भारी वर्षा भएको छ । सुनसरीको इटहरीसहित अधिकांश भुभाग डुबानमा परेको छ । कोशी ब्यारेजको पुलमा पानीको वहाव बढेपछि पुरै ढोका खोलिएका छन् । बराहक्षेत्र, चतरा, कोशीटप्पुलगायतका क्षेत्रहरु प्रभावित बनेका छन् । अविरल वर्षाले झापासहित देशभरको जनजीवन प्रभावित तुल्याएको छ ।
दमक क्षेत्र आसपासमा सामान्य यो समाचार तयार पर्दा समेत सामान्य डुबान भएको तर कुनै क्षति नभएको बुझिाएको छ । दमक नगरक्षेत्रभित्र अविरल वर्षाबाट क्षति हुन नदिन दमक नगरपालिकाले सबैमा सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै बिहीबारदेखि दमक नगरपालिका क्षेत्रमा भएको भारी वर्षाबाट उच्च सतर्कता अपनाउन दमक नगरपालिकाले आग्रह गरेको छ । दमकका विभिन्न स्थानमा नदी कटान तथा खोला नदीको वहावको जोखिम रहेको, विभिन्न क्षेत्रहरु डुमानको जोखिममा रहेको, मावा र रतुवा खोलाहरुमा पानीको सतह बढ्न गएकोले उच्च सतर्कता अपनाउन सम्बन्धित नगरबासीमा अनुरोध समेत गरेको छ ।
झापामा लगातार दुई दिन अघिदेखि अत्याधिक वर्षा भएपछि उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सबै मातहतका निकायलाई उच्च सतर्कता अपनाएर बस्नका लागि निर्देशन गरेको हो।
जिल्लाका कन्काई, मावा, रतुवा लगायतका खोलामा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । शुक्रबार साँझसम्म झापामा मानवीय क्षति कहिकतै नभएको जनाइएको छ ।
शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । कन्काइमा बाढीको बहाव उच्च भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको र उद्धारका लागि प्रहरी टोली हाइअलर्टमा रहेको बास्तोलाले बताए ।
बिहीबार जनप्रतिनिधि र उद्धार तथा राहत कार्यमा संलग्न हुनुपर्ने निकायको संयुक्त बैठकले प्रकोप व्यवस्थापनका लागि सबै उपाय अवलम्बन गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए । स्थानीय निकायसँगको सहकार्य र समन्वयमा प्रकोप व्यवस्थापनका लागि आवश्यक काम गर्ने उनको भनाई छ ।
किसानहरु चिन्तित : अविरल वर्षाबाट आएको बाढील धानमा क्षति पु¥याएकोमा किसान चिन्तित भएका छन् । बाढी र भलले धान सबै लडाएर क्षति पु¥याएको किसान बताउँछन ।
बाढीबाट कहाँ कति क्षति ?
झापाका तीन स्थानको बर्षामापन केन्द्रले २४ घण्टामा भारी वर्षा भएको देखाएको छ । केचनामा १७९.८, गौरादहमा १६२.२, चन्द्रगढी एयरपोर्टमा १४४.२ र अनारमनी बिर्तामोडमा ११६.६ मिमि बर्षा भएको हो । त्यस्तै इलामको बर्षामापन केन्द्रहरुमा पनि बर्षा क्रमिक बढ्दै गएको देखिएको छ । कन्काई नदीमा जलस्तर २. ८ मिटर पुगेकोले सतर्क रहन आग्रह गरिएको छ ।
यस्तै यता दमक बजारको मुख्य बसपार्क डुवानमा परेको छ । पानीको सतह बढे पछि बसपार्क क्षेत्रका व्यवसायीको दोकान तथा घरमा समेत पानी पस्न थालेको जिल्ला विपद् कार्यालय झापाले जनाएको छ ।
जिल्ला विपद् कार्यालय झापाले संकलन गरेको तथ्यांक अनुसार जिल्लामा ३१ परिवार बिस्थापित भएका छन् । बिस्थापित हुनेहरुमा सबैभन्दा बढी बिर्तामोडका रहेका छन् । बिर्तामोडका १८ परिवार बिस्थापित भएका हुन् ।
केही दिनदेखि अबिरल बर्षाका कारण अधुवा खोलामा आएको बाढीले बिर्तामोड– ३ सिर्जना टोलमा पानीको बहाव पसेर ९ परिवार बिस्थापित भएका छन् । बिर्तामोड– ५ नमुना टोल र वडा नं. ४ मान्डा टोल बस्ने पाँच परिवार बिस्थापित भएका छन् । बिर्तामोड वडा नं ८ बाह्रबिघे बस्ने तीन परिवार बिस्थापित भएका छन् ।
त्यस्तै कनकाई नगरपालिका वडा नम्बर ३ झर्ना बस्तीमा सन्का खोला र सुरुङ्गा खोलाको पानीको बहाब पसेर ११ परिवार बिस्थापित भएका छन् ।
त्यस्तै कन्काई नदीले कटान सुरु गर्दा दुई परिवार विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका– १० बस्ने अमर ऋषिदेव र किरण ऋषिदेवको परिवार विस्थापित बनेका हुन् ।
शिवसताक्षी– १० बिहानी टोलको पश्चिमतर्फबाट कन्काई खोलाले कटान सुरु गरेको हो । उक्त टोलको १५ घरमध्ये ती दुईवटा घर अति जोखिममा परेपछि शिवसताक्षी नगरपालिका १० नम्बर वडा कार्यालयको समन्वयमा मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको हो ।
त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं ७ को होली टोलका अन्दाजी २०–२२ घरमा सताक्षी खोलाको पानी पसेर डुवान भएको छ । घरमा सामान्य पानी पसेको र तत्काल क्षति गर्ने सम्भावना नरहेकोले उनीहरुलाई स्थानान्तरण नगरिएको जिल्ला विपद् कार्यालयले जनाएको छ ।
बुधवारदेखिको निरन्तरको वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १६ स्थानमा चेतावनीको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको मापन भएको छ । यो समाचार तयार पार्दासम्म चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरुमध्ये धेरैजसो कोशी प्रदेशका रहेका छन् ।
यसैगरी झापाका शनिश्चरे, अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ । २४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २ सय ३२ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ ।
चालक र मोटर साइकल बगायो
अविरल बर्षका कारण झापाका दक्षिणी भूभागका बस्तीहरु डुवानमा पर्न थालेका छन् । भारी बर्षाका कारण ठूला तथा साना खोलाहरुमा पानीको सतह उच्च भएको छ । यता तराईका साना खोला खोल्सी समेत भरिएर पानी गाउँ तथा शहरी क्षेत्रमा पस्दा दजनौं घर तथा पसल समेत डुवानमा परेका छन् ।
कचनकवल वडा नं. २ को अमलखुट्टा खोलामा आएको बाढीले को. प्र. १(०२(०५० प ६९७८ नम्बरको मोटर साईकल बगाएर वेपत्ता भएको छ भने चालक रविन भट्टराई १ सय मिटर तल निस्कन सफल भएका छन् । जिल्लाको कन्काई, मेची र विरीङ खोलामा आएको बाढीले खतराको सिमाना पार गरिसकेकाले तटीय क्षेत्र उच्च जोखिममा परेकाले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।
झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २ सय ३१ मिलिमिटर वर्षा भएको छ । उदयपुरको सुन्दरपुर र पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको संकेत गरेको छ ।
इलाममा एकजनाको मृत्यु
खोलामा आएको बाढीले बगाएर इलाममा एकजनाको मृत्यु भएको खबर छ भने झापामा एकजना बेपत्ता छन् ।
इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो । शुक्रबार माई नगरपालिका– ८ स्थित सेते खोलाले बगाएर स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो । उनलाई स्थानीय माई अस्पताल दानाबारीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।
बालिका बेपत्ता
झापाको कचनकवलमा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् । कचनकवल(१ झकुवाटोली बस्ने पचु राजवंशीकी १४ बर्षीया छोरी नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी हुन् । भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।
पाँचथरको जनजीवन प्रभावित
तीन दिनअघिदेखि भइरहेको वर्षाका कारण पहाडी जिल्ला पाँचथरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण जिल्ला सदरमुकाम फिदिमसँग गाउँपालिका केन्द्र र वडाहरुमा जोड्ने अधिकांश सडक अवरुद्व भएका छन् ।
धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने तमोर करिडोर दुई दिनदेखि ठप्प छ । तमोर करिडोर अन्तर्गत धनकुटा र पाँचथरको सिमावर्ती नावा खोलामा बाढी आएका कारण धरानबाट पाँचथर ताप्लेजुङ र ताप्लेजुङ पाँचथरबाट मुलघाट हुँदै धरान विराटनगर जाने सवारी र ढुवानी साधन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डिएसपी) हेमन्त भण्डारीले जानकारी दिए ।
पहिरोले इलामका विभिन्न सडकहरु अवरुद्ध
अविरल वर्षासंगै पहिरो जाँदा इलामका विभिन्न सडकहरु अवरुद्ध भएका छन् ।आज बिहान पहिरो जाँदा पशुपतिनगर(मानेभन्ज्याङ भित्री सडकखण्ड अवरुद्ध भएको छ । बिहान ६ः३० बजे सूर्योदय नगरपालिका( १ स्थित इलाका प्रहरी कार्यालय मानेभन्ज्याङबाट सय मिटर पश्चिममा पर्ने घोडा तरेलामा पहिरो गएको हो । पहिरो गई सो बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यस्तै घोसेटा मानेभन्ज्याङ जंगलस्थित मानेभन्ज्याङ (मंगलबारे भित्री कच्ची सडकखण्ड पनि पहिरो गई अवरुद्ध भएको छ । बाटोको अवरोध हटाउन स्थानीय जनप्रतिनिधि र सम्बन्धित कार्यालयसंग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै इलामको बिब्ल्याटे(माबु सडकखण्डअन्तर्गत माबु हाइडूो छेउ सुलुबुङमा पहिरो खसेर अबरोध भएको छ । भित्री सडकहरुमा अवरोध भएपनि मेची राजमार्ग भने सुचारु रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
शनिबार विहानसम्म सबै आन्तरिक उडान स्थगित
नेपाल नागरिक उययन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ ।
प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्टिूय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।
देशभरका राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण देशभरका मुख्यराज मार्ग अवरुद्ध भएका छन् ।
सडक विभागका अनुसार अहिले चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडक खण्डको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने सडक अवरुद्ध रहेको छ । यो तमोर करिडोर अन्तर्गतको सडक हो ।
यसैगरी पृथ्वी राजमार्गको नौबिसे(मुग्लिन सडक अन्तर्गत नागढुंगा र पृथ्वी राजमार्गकै धादिङस्थित ७ किलो भन्ने स्थानमा सडक अवरुद्ध छ ।
पृथ्वी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन निर्वाध गुड्न पाएका छैनन् ।
बढ्दो जोखिमलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको बैठकले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवतजावत रोक्ने निर्णय गरेको छ ।
मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल क्षेत्रमा समेत राजमार्ग अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।
२० जिल्लामा बाढीको जोखिम
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले लगातार वर्षाका कारण देशभरजसो बाढीले क्षति गर्ने जोखिम देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।
शुक्रबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी महाशाखाले आज तराईका सबै जिल्लासहित देशका २० जिल्लामा अति उच्च सतर्कता अपनाउन सुझाव दिएको हो ।
बाढी महाशाखाका अनुसार आगामी ३ दिन कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला नदीको जलसतह सतर्कता तहआसपास रहने अनुमान रहेकाले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो