इटहरी / प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा बनेको भ्यु टावर ‘भ्यु टावर’ नभएर व्यवसायिक ट्रेड सेन्टर बनेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले दमकमा बनेको भ्यु टावरको उद्देश्य र लागतबारे प्रश्न गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री ओलीले भ्यु टावर नभएर दमकमा ट्रेड सेन्टर बनेको बताएका हुन् ।
‘दमकमा एउटा विजनेश कम्प्लेक्स बनेको छ । अलिक अग्लो रहेको छ । त्यसकारण त्यसलाई टावर र भ्यु टावर भने’ प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यो भ्यु टावर होइन । भ्यु टावर बनाउन अबौं खर्च कसैले गर्दैन, त्यो विजनेश कम्प्लेकस हो ।’
साढे सात रोपनीमा कम्प्लेक्स बनेको र त्यसमा ६ वटा लिफ्ट रहेको उल्लेख गर्दै उनले थपे, ‘हरेक तलामा विभिन्न प्रकारका विजनेश चल्न सक्छन् । हस्पिटल, होटल, आइटी पार्क बन्न सक्छन् ।’ यस्तो कप्लेक्स थाइल्याण्डमा, मलेसियामा समेत रहेको ओलीले बताए । अमेरिकाले धेरै पहिले ट्वीन टावर बनाएको र त्यसलाई वल्ड ट्रेड सेन्टर भनेर बुझिने गरेको उल्लेख गर्दै उनले थपे, ‘दमकको लागि अहिले झापा ट्रेड सेन्टर भनेर बुझ्दा हुन्छ ।’
उक्त कम्प्लेक्सको लागत १ अर्ब ७९ करोड ४८ लाख रहेको पनि उनले जानकारी दिए । ४५ मिटरसम्म जग रहेको उल्लेख गर्दै उनले थपे, ‘ दह्रो बनाइएको छ । त्यसले सयौं वर्षसम्म प्रतिफल दिइरहनेछ ।’
भ्रष्टाचार नियन्त्रण नतिजामुखी बन्नुपर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणको विषय हो–हल्ला नभएर नतिजामुखी बन्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न अन्तर्गत सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले सो कुरा बताएका हुन् । उनले भने, ’भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषय बनाएर होइन् नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर मात्रै टुङ्गोमा पु¥याउनुपर्छ । भ्रष्टाचार नियन्त्रण होहल्लाको विषय मात्रै बन्न हुँदैन कानुनी अनुसन्धान र नतिजामुखी बन्नुपर्छ।’
शिक्षामा आशान्ति नमच्चाउन आग्रह
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरूमा अशान्ति नमच्चाउन आग्रह गरेका छन्। बिहीवार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरूमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका हुन्।
शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। उनले विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने ? भनेर प्रतिप्रश्न समेत गरे। उनले भने,’ ताला अरुले लाउन आउने त होइन। आफैँ ताला लाउने अनि पढाइ भएन भन्ने। शिक्षालय, विद्यालय भनेको शान्ति क्षेत्र हुनुपर्ने। विश्वविद्यालय, महाविद्यालयहरू शान्ति क्षेत्र हुनुपर्ने । ति ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरी शान्ति भएन भन्ने ? त्यस खालका तरिकाहरू हरेकले छोड्नुपर्छ। र जिम्मेवार ढंगले शिक्षाको उन्नति कसरी हुनसक्छ ? शिक्षाका समस्या सबै मिलेर कसरी गर्न सकिन्छ ? यस कुरामा जिम्मेवारीबोधका साथ सबैले ध्यान दिन जरुरी छ।’
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो