पहिरोमा परेर दुई परिवारका ७ जनाको निधन

फाष्ट मिडिया नेपाल संवाददाता

बझाङ र जाजरकोटमा पहिरोमा परेर दूई परिवारका ७ जनाले ज्यान गुमाएका छन् । प्राप्त समाचारअनुसार बझाङमा एकै परिवारका चार जनाको ज्यान गएको छ । ६ जनाले भागेर ज्यान बचाएका छन् ।

गएराति बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उनकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा ना’झ ६ वर्षकी आकृति र ३ वर्षकी लक्ष्मीको ज्यान गएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक डिल्ली विष्टले जानकारी दिए । उनका अनुसार गएराति १ बजेतिर झरेको पहिरोले घर पुरेको हो । पहिरो घरमा खस्दा परिवारका ९ जना र एक जना पाहुना समेत १० जना रहेकामा ६ जनाले भागेर ज्यान बचाएका छन् । शव प्रहरी र स्थानीयबासिन्दाको टोलीले निकालेको हो । पहिरोमा ५ वटा बाख्रा पनि पुरिएका छन् ।

यसैगरी जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा परियार र २ वर्षीय छोरा शिभम परियार रहेका छन् । भुकम्प प्रभावित यो परिवार अस्थाई टहरामा बस्दै आएका बताइएको छ । घटनाको विवरण आउन बाँकी रहेको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया