इटहरी । स्थानीयलाई प्रदुषणमा राखेर इटहरीको खनारमा अवैधानिक ढंगबाट एक उद्योग सञ्चालनमा रहेको समाचार बाहिरिएको छ । इटहरी उपमहानगरपालिका–१३ (खनार) मा रहेको अरिहन्त अटो कोरुगेसन प्रालिले त्यस्तो गरेको पाइएको हो । गत आइतबार इटहरी उपमहानगरपालिकाको टोलीले गरेको अनुगमनमा उद्योगले इजाजतपत्र अनुसार क्राफ्ट पेपर मात्र उत्पादन गर्नुपर्नेमा प्लास्टिक तथा अन्य कागजी सामग्री समेत उत्पादन गर्दै आएको खुलासा भएको हो।
अनुगमन टोलीका अनुसार उद्योगले उत्पादन गतिविधिमा निर्धारित मापदण्ड र कानुनी प्रक्रिया नअपनाई प्रदूषण समेत व्यापक रूपमा फैलाउँदै आएको छ। उद्योगको धुवाँ र विषादीयुक्त ग्यासका कारण वरपरका स्थानीयवासी लामो समयदेखि छाला र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित छन्। उद्योगको कारण नजिकका जलस्रोतहरू समेत सुक्न थालेको स्थानीयको गुनासो छ। सो उद्योगबाट कार्टुनका बोर्ड, बिजुलीको तार, टिस्यु पेपर लगायत प्लास्टिकका सामग्री उत्पादन र प्रशोधन, खिया लागेका तारहरू केमिकल लगाएर सफा गर्ने गरिन्छ । जसको लागी सल्फयुरीक एसिड र हाइड्रोक्लोरीक एसिडको मात्र प्रयोग हुने गर्छ । यस प्रक्रियामा लिड जस्तो अत्यन्तै घातक धातु समेत प्रयोगमा आउँछ । यती धेरै प्रदूषण उत्पादन हुने उद्योगको प्रदुषणबाट स्थानीयहरु धेरै रोगको शिकार समेत भएको र पटक पटक नगरपालिकालाई त्यसको जानकारी मात्र गराएका छैनन आन्दोलन समेत गर्दै आएका थिए ।
स्थानीयबासीले उद्योगको विरुद्धमा पटक–पटक आन्दोलन गरे पनि प्रदूषणमा कमी नआएको भन्दै आक्रोश पोख्दै आएका छन्। उपमहानगरपालिकाको अनुगमन टोलीले उद्योगका सञ्चालक हंसराज जैनलाई व्यवसाय दर्ता प्रमाणपत्र, नवीकरणका कागजात, घरेलु दर्ता, नक्सापास, सम्पत्ति कर तिरेको रसिद लगायत सबै आवश्यक कागजात ७ दिनभित्र पेस गर्न निर्देशन दिएको छ।
यदि तोकिएको समयभित्र कागजात प्रस्तुत नगरिए वा अनधिकृत गतिविधि रोकिएन भने कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ। उपमहानगरपालिकाले वातावरण संरक्षण र जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै थप अनुगमन र निगरानीलाई कडा बनाउने बताएको छ।
यस प्रकरणले उद्योग सञ्चालनमा नियमन र पारदर्शिताको महत्व झल्काएको छ। स्थानीय प्रशासन र सरोकारवाला निकायको सक्रियता र तत्परतामार्फत प्रदूषण नियन्त्रण र नागरिक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो