मेचीनगर नगरपालिका–१३ चारआलीस्थित बनक्षेत्रमा अनाधिकृत रुपमा बनाइएका टहरा सुरक्षाकर्मीको सहयोगमा भत्काइयो

फाष्ट मिडिया नेपाल संवाददाता

विगत सात वर्षदेखि मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनको वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ वटा घर टहरा बल प्रयोग गरी हटाइएको छ ।

गत वर्षदेखि पटक पटक ठाउँ खाली गर्न गरेको आग्रहलाई बेवास्ता गरी अटेर गरेपछि डिभिजन वन कार्यालय झापाले आज बल प्रयोग गरेको हो । वन कार्यालयका ६० जना वनरक्षक र कर्मचारी , ३१ जना सशस्त्र प्रहरी , २९ जना जनपद प्रहरी र ५० जना सामुदायिक वन उपभोक्ता सदस्यहरु ती घर टहरा हटाउन परिचालन गरिएको थियो । डिभिजन वन कार्यालयको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यवसायीसँग केहीबेर विवाद भएको थियो । त्यहाँ व्यवसाय गर्ने मेचीनगर १३ की ३६ वर्षीया अनिता तामाङले प्रगति सामुदायिक वनका अध्यक्ष विकास निरौलालाई अभद्र व्यवहार गरेकी थिइन् । कालोमोसो दल्ने उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलावारी लगिएको छ । वनका अध्यक्ष निरौलालाई दुर्व्यवहार गरेर भागेकी ती महिलालाई महिला प्रहरीले नजिकैको सार्वजनिक शौचालयमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

जेसीबी प्रयोग गरी १५ वटा घर, छाप्रो र घुम्ती तथा ३ वटा तरकारी पसल हटाइएको हो । दुर्गादेवी तामाङ, ऋतु कार्की दर्जी , तारा राजवंशी , बखत नेवार , गीता ठाकुर , खुबराज राजवंशी , आर्दुल हुसैन , शत्रुघन ठाकुर , विनोद शिवा , जयदा खातुन , मानिका राजवंशी , अनिता मगर ,संगिता राई , सरस्वती दुलाल र कला शिवाको घर, छाप्रो र घुम्ती हटाइएको मेची सब डिभिजन वन कार्यालय का वन अधिकृत सुरज निरौलाले बताए । बिहान करिव १० बजे जेसीबीसहित र वन समूहको टोली, सुरक्षाकर्मी आएका थिए ।सामान निकाल्न व्यवसायीहरुलाई ३० मिनेटको समय प्रदान गरिएको थियो । केही व्यवसायीहरुले सामान निकाल्न सुरु गरेका थिए भने केही अटेर गरी बसेका थिए ।

पूर्वपश्चिम राजमार्ग विस्तार हुँदा केही व्यवसायीहरुले राजमार्गसँग जोडिएको वन क्षेत्रमा आफ्नो व्यवसाय सारेका थिए । पछि अन्य व्यवसायीहरु थपिएर वन क्षेत्र अतिक्रमण गरेका थिए । उक्त स्थानमा तरकारी र माछामासु बजार सञ्चालन गर्दै आएका थिए । सशस्त्र प्रहरी, जनपद प्रहरी र वनरक्षक टोली परिचालन गरी अतिक्रमण हटाएर वनक्षेत्र खाली गराइएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताए ।

तीन पटक सार्वजनिक सूचना जारी गरी पटकपटक छलफल गर्दासमेत अतिक्रमण नहटाएपछि बाध्य भएर वनक्षेत्र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको राईले बताए । २०८० सालको असार २२ गते प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सुरक्षा समितिको बैठकले सो वनक्षेत्र खाली गराउने निर्णय गर्दै १५ दिने सूचना जारी गरेको थियो । त्यसपछि केही महिनाअघि दोस्रो पटक एक महिने सूचना जारी भएको थियो भने गत माघ २४ गतेदेखि सात दिनको म्याद दिएर अन्तिम पटक सूचना जारी गरिएको डिभिजन प्रमुख राईले बताए । वनक्षेत्रमा रहेको दुईवटा सार्वजनिक शौचालय पनि भत्काइने भएको छ । वडा कार्यालयले ती शौचालयको व्यवस्थापन गर्ने जनाइएको छ । खाली गराइएको वनक्षेत्र आज नै घेरावारा गरिसकिएको छ । त्यहाँ बृक्षरोपण गर्ने जनाइएको छ ।

वनक्षेत्र अतिक्रमण गरी पाउ पाथीभरा मन्दिर , किरातेश्वर र माङहिम निर्माण

प्रगति सामुदायिक वनकै वनक्षेत्र पाउ पाथीभरा मन्दिर , किरातेश्वर र माङहिमले अतिक्रमण गरेका छन् । धार्मिक पर्यापर्यटनका लागि निश्चित वनक्षेत्र दिन मिल्ने कानुनी व्यवस्था अनुसार ती धार्मिक स्थलहरुलाई लिजमा बस्न दिइएको हो । पाउ पाथीभरा मन्दिरले वार्षिक १६ लाख तथा किरातेश्वर र माङहिमले १५–१५ हजारका दरले वन समूहसंग लिजमा जग्गा लिएको समूहका अध्यक्ष निरौलाले जानकारी दिए । ती तीनवटा धार्मिक स्थलले ३.४५ हेक्टर वनक्षेत्र ओगटेका छन् । प्रत्येक वर्ष नवीकरण गर्नेगरी कार्ययोजना बनाएर ती धार्मिक स्थललाई रहन दिएको अध्यक्ष निरौलाले जानकारी दिए । ती धार्मिक स्थलले अब कुनै पनि संरचना निर्माण गर्न पाउने छैनन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया