दमक । केन्द्रीय सभापति, संसदीय दलको नेता, महामन्त्री, प्रवक्तादेखि कोशी प्रदेशको सभापतिसमेत कार्यवाहकको भरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार प्रदेश इञ्चार्जहरु तोकेको छ । कोशी प्रदेश प्रवक्ता कमलबाबु मैनालीका अनुसार कोशी प्रदेशको इन्चार्जमा संसदीय दलका सचेतक सन्तोष परियारलाई खटाइएको छ ।
रवि लामिछानेले पार्टी पुर्नसंचरना गर्ने तयारी गरिरहँदा अदालतले उनलाई पुनः हिरासतमा पठाएपछि सबै मुख्य पदमा कार्यवहाककै भरमा चलाउन पर्ने भएको छ । रास्वपा कोशी प्रदेश समिति तीन महिनाभन्दा लामो समयदेखि प्रदेश सभापतिविहीन थियो । तत्कालीन सभापति राजेश तिम्सिनालाई गएको माघ ४ मा निलम्बन गरेको रास्वपाले प्रदेश उपसभापति गोमा तामाङ सरिनलाई कार्यवाहक सभापति तोकेको थियो ।

संस्थापक महामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउनु पर्ने आवाज उठाउँदा कोशीका तत्कालीन सभापति तिम्सिना कारवाहीमा परेका थिए । उनलाई कारवाही गर्न इटहरीमा बोलाइएको बैठक सफल हुन नसकेपछि पार्टीको अनुशासन आयोगले काठमाडौंबाटै उनलाई निलम्बन गरेको थियो । त्यसयता कार्यवाहककै भरमा प्रदेश पार्टी चलिरहेको छ ।
‘केन्द्रका धेरै महत्वपूर्ण पदहरु नै कार्यवाहकको भरमा चलेका बेला प्रदेश पनि कार्यवाहकका भरमा चल्नु अनौठो होइन’, पार्टी प्रदेशका एक नेताले भने ‘अब इञ्चार्ज तोकिएर आएपछि केही नयाँ निर्णय होला ।’
रास्वपा कोशीले यसअघि असोजमा गरेको बैठकबाट चैतभरीमा प्रदेश अधिवेशन गरिसक्ने र नयाँ नेतृत्व चयन गर्ने बताएको थियो । तर, सभापति रवि लामिछाने फेरि जेल गएपछि त्यो क्यालेन्डर प्रभावित भएको प्रदेश महामन्त्री लालविक्रम थापाले जानकारी दिए ।

‘चैतभरीमै अधिवेशन गर्ने तालिका थियो तर सभापतिजीको समस्याले यो प्रक्रिया तत्काललाई विथोलियो’, थापाले भने ‘अब इञ्चार्ज आएपछि नयाँ निर्णय होला ।’
रास्वपा केन्द्रीय समितिले बिहीबार परियारलाई कोशीको इञ्चार्ज बनाउँदा मधेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपीनकुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिमको इञ्चार्जमा हरि ढकाललाई तोकेको छ । आगामी फागुन ७, ८ र ९ गते चितवनमा राष्टिूय महाधिवेशन गर्ने निर्णय रास्वपाले गरेको छ । सभापति लामिछानेकै कारण केन्द्रीय महाधिवेशन झण्डै वर्षदिन पछाडि धकेलिएपछि अब प्रदेश अधिवेशनहरु पनि प्रभावित हुने भएका छन् ।
केन्द्रीय समितिले २०८२ असोजसम्ममा वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
‘यो निर्णयले प्रदेश समिति अझै झण्डै वर्षदिन कार्यवाहककै भरमा चल्ने निश्चित भयो’, रास्वपा प्रदेशका ती नेताले भने ।
सांसद निशा डाँगीले उद्घोषलाई दिएको जानकारी अनुसार हालसम्म राष्टिूय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको छ । त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ ।
७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको दाबी उनले गरिन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो