इटहरी । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेर ज्यान गुमाउनेको सङ्ख्या ठुलो छ । वैदेशिक रोजगार बोर्डका अनुसार आव २०८१÷८२ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका एक हजार ५१७ जनाको मृत्यु भएको छ । बोर्डको आँकडामा देखिने सङ्ख्या श्रम स्वीकृति लिएर गई ज्यान गुमाएका मृतकका परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिएका आधारमा तयार पारिएको हो ।
श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको सङ्ख्यासमेत जोड्दा अझ भयावह अवस्था छ । यसको यकिन तथ्याङ्क सरकारसँग छैन । बोर्डका अनुसार नेपालीले मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरियालगायत मुलुकमा विभिन्न कारणले ज्यान गुमाएका छन् । युवालाई पर्याप्त सिप तथा तालिम नहुनु त्यस्तै गन्तव्य मुलुकमा सुरक्षाको ग्यारेन्टीबिना काममा लगाइनुलगायत कारण ठुलो सङ्ख्यामा नेपालीले ज्यान गुमाउने गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु हुनेको सङ्ख्या क्रमशः बढेको छ । बोर्डका अनुसार आव २०८०÷८१ मा एक हजार ३४६ शव आएका थिए भने गत आवमा २०८१÷८२ मा एक हजार ५१७ वटा शव आए । जुन अघिल्लो आवमा भन्दा गत आवमा १७१ शव बढी हो ।
बोर्डका निर्देशक एवम् सूचना अधिकारी गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेसँगै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको सङ्ख्या पनि बढेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट १० लाख रुपियाँ आर्थिक सहायता पाउँदै आएका छन् ।
बोर्डका अनुसार आव २०६५÷६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४ हजार ८६२ जनाको परिवारलाई आर्थिक सहायता स्वरूप पाँच अर्ब ९७ करोड ६४ लाखभन्दा बढी रकम उपलब्ध गराइएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको आव २०८१÷८२ मा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका थिए । दैनिक औसतमा दुई हजार २०३ जना श्रम स्वीकृति लिएर जाँदा चार वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्छन् ।
अघिल्लो आव २०८०÷८१ मा सात लाख ४३ हजार ५९५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । सो अवधिमा वैदेशिक रोजगारीमा गएका एक हजार ३४६ मृतक परिवारका आफन्तले आर्थिक सहायता लिएका थिए ।
बोर्डले गत आवमा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ८६७ जनालाई आर्थिक सहायतास्वरूप २४ करोड ९९ लाख रुपियाँ उपलब्ध गराएको छ । अघिल्लो आवमा ६५३ जनालाई आर्थिक सहायता स्वरूप १९ करोड ४६ लाख ८५ हजार रुपियाँ उपलब्ध गराइएको थियो । आव २०७९÷८० मा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा गम्भीर बिरामी भएका ३८९ जनालाई नौ करोड ९७ लाख आठ हजार रुपियाँ आर्थिक सहायता प्रदान गरिएको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो