इटहरी । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतिर पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘सुनामी’ले पुराना राजनीतिक दलका शीर्ष नेताहरूलाई व्यापक रूपमा पराजित गरेको देखिएको छ। प्रारम्भिक र अन्तिमतिरको नतिजाले दर्जनभन्दा बढी दलका अध्यक्ष, सभापति र वरिष्ठ नेताहरू संसद् प्रवेश गर्न असफल भएको चित्र देखाएको छ।
हालसम्मको नतिजाअनुसार रास्वपा सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मात्र प्रमुख दलका अध्यक्षको रूपमा प्रतिनिधिसभामा निर्वाचित भएका छन्। अन्य धेरै दलका अध्यक्ष र शीर्ष नेताहरू भने रास्वपाका उम्मेदवारसँग प्रत्यक्ष प्रतिस्पर्धामा पराजित भएका छन्।
सबैभन्दा ठूलो राजनीतिक झट्का नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लागेको छ। झापा–५ मा उनी रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग ४९ हजार ६ सय १४ मतको भारी अन्तरले पराजित भएका छन्। बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गरेर विजयी हुँदा ओलीले १८ हजार ७ सय ३४ मत मात्र पाए।
त्यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ मा रास्वपाका अमरेश सिंहसँग पराजित भएका छन्। सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गरी निर्वाचित हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र पाए। दुईबीचको मतान्तर १२ हजार ८ सय ५७ रहेको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापा–३ मा रास्वपाका प्रकाश पाठकसँग २१ हजार ३ सय ८० मतले पराजित भए। पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दा लिङ्देनले १७ हजार २ सय ९४ मत पाए।
काठमाडौँ–३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका छन्। पाण्डेले १८ हजार ७ सय ५७ मत ल्याएर विजय हासिल गर्दा घिसिङले ११ हजार १ सय ७१ मत मात्रै पाए।
मधेस केन्द्रित दलहरूका शीर्ष नेताहरू पनि यसपटक रास्वपाको प्रभावबाट बच्न सकेनन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट रास्वपाका अमरकान्त चौधरीसँग पराजित भए। चौधरीले ३२ हजार ८ सय ७५ मत ल्याएर जित्दा यादवले १५ हजार २ सय ३९ मत मात्रै पाए।
त्यस्तै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ मा रास्वपाका रविन महतोसँग पराजित भए। रविनले ४२ हजार ५ सय १२ मत ल्याएर विजय हासिल गर्दा राजेन्द्र महतोले ५ हजार ९ सय ९२ मत मात्रै प्राप्त गरे।
यसैबीच जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सप्तरी–२ मा रास्वपाका रामजी यादवसँग पराजित भएका छन्। रामजीले २८ हजार ४ सय ४ मत ल्याएर चुनाव जित्दा राउत तेस्रो स्थानमा खुम्चिएका छन्।
विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनमा रास्वपाले देशव्यापी रूपमा नयाँ राजनीतिक लहर सिर्जना गरेको देखिएको छ। रवि लामिछाने र बालेन शाहजस्ता नयाँ पुस्ताका नेताहरूको लोकप्रियताले पुराना दलका स्थापित नेताहरूलाई चुनौती दिएको विश्लेषण गरिएको छ।
मतगणना अन्तिम चरणमा पुग्दै गर्दा प्राप्त नतिजाले परम्परागत दलको प्रभुत्व कमजोर हुँदै गएको र नयाँ राजनीतिक शक्तिहरू उदाउँदै गएको संकेत गरेको छ। राजनीतिक विश्लेषकहरूले यसलाई नेपालको संसदीय राजनीतिमा महत्त्वपूर्ण शक्ति सन्तुलन परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन्।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो