झापामा हात्तीपाईले विरुद्धको औषधी खुवाईदै

फाष्ट मिडिया नेपाल संवाददाता

समाज÷स्वास्थ्य

दमक/ झापामा १४ औं चरणको हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान सुरु भएको छ । जिल्लाका १५ पालिकामध्ये ६ पालिकाहरू (कनकाई, अर्जुनधारा, झापा, बाह्रदशी, हल्दिबारी र कचनकवल)मा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु भएको हो । १३ औं चरणको औषधि सेवनपश्चात् जिल्लामा हात्तीपाइले रोग विरूद्धको सर्वेक्षण गरिएको थियो । इन्डेमिक जिल्लाहरूमध्ये झापा, सर्लाही, रौतहट र बाँके जिल्लाहरूको ३३ वटा पालिकाहरूमा यो अभियान माघ ७ गतेबाट सुरु भएको हो । सन २०२५ सम्म नेपालको ५७ जिल्लाहरूमा ४७ हजार ८८६ हात्तीपाइलेका बिरामीहरू पहिचान गरिएका छन् ।

झापाका कचनकवल गाउँपालिकामा ३०२ र झापा गाउँपालिकामा ३०८ जनामा गरिएको एफटिएस टेस्टको नतिजा अनुसार कचनकवलमा ४४ र झापामा २० मा आरटीडी पोजेटिभ देखिएको थियो । एमएफ पोजेटिभ एक प्रतिशतभन्दा माथि देखिएकोले त्यहाँ हात्तीपाइले रोग देखिएको थियो । मूल्यांकन एकाईमा पोजेटिभ देखिएकोले यस पटक ६ पालिकाका २ लाख ८२ हजारलाई औषधि सेवन गराउने अभियानको शुभारम्भ भइसकेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।  उनका अनुसार सन् २००० सम्म १२ करोड मानिसहरू संक्रमित तथा ४ करोड मानिसहरू अङ्गभङ्ग रहेको पाइएको छ । सन् २०२४ सम्म, संक्रमणको दर ७४ प्रतिशतले घटेर ५.१ करोड मानिसहरू अझै पनि यो रोगबाट संक्रमित छन् । विश्वव्यापीकरण अनुमानित २.५ करोड परुषहरू हाइड़रोसील र १.५ करोड भन्दा बढी व्यक्तिहरू लिम्फोएडेमावाट प्रभावित रहेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रवीन्द्र खनियाले बताएका छन् । उनका अनुसार विश्वभर यस कार्यक्रम सञ्चालन भएका ७१ वटा देशहरू मध्ये १२ देशहरूमा समुदायस्तरको संक्रमण रोकिसकेको छ भने २१ देशले निवारण गरिसकेका छन् । सन २००० देखी २०२३ सम्म कार्यक्रम सञ्चालन भएका ७१ वटा देशहरूमा अहिले सम्म ९ अर्ब ७० करोड डोज औषधि सेवन भइसकेको छ । नेपालको ६४ वटा इन्डेमिक जिल्लाहरूमध्ये ५७ वटा समुदाय स्तरको संक्रमण रोकिएकोले यो औषधि सेवन अभियान बन्द भइसकेको छ र ५ वटा जिल्लाहरू दोस्रो चरणको संक्रमण मूल्याङ्कनको रहेका छन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया