कमलमा राष्ट्रिय परिवर्तन पार्टी घोषणासभा : भदौ २३ का रक्तपातका दोषीलाई कारवाही गर्न माग

खगेन्द्र कार्की


दमक । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७८ जना हत्याका दोषीमाथि कारवाहीको माग गरिएको छ । 

कमलमा सहिद, घाइते र जेनजीलाई समेटने गरी गठन भएको राष्ट्रिय परिवर्तन पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै सहिदको तर्फबाट वार्ता टोलीका संयोजक गणेश प्रसाद चौलागाईले उक्त माग गरेका हुन ।  


कमल–५ स्थित जनजाति रंगशालामा शनिबार आयोजित सो घोषणसभामा सहिद श्रेयम चौलागाईका पिता समेत रहेका इटहरी निवासी चौलागाईले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, तत्कालिन सिडियो, प्रहरी प्रमुख र आन्दोलनको बेला फिल्डमा खटिएका सुरक्षाकर्मीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले त्यति ठूलो आन्दोलनलाई अनेकन उपनाम दिएर निस्तेज तुल्याउन खोजिएको आरोप पनि लगाए । चौलागाईले जेनजीका माग र मुद्दालाई पुरा गर्ने क्षमता यदि अहिलेको सरकारमा छैन भने राजीनामा दिन आग्रह पनि गरे । उनले ओझेलमा पारेर पुनः उहि पुरानो प्रवृत्तिको पुनरावृत्ति गराउने गरी अहिले कांग्रेस, एमाले र माओवादीसमेत लागेका छन उनीहरुलाई निर्वाचनबाट परास्त गरेर पालैपालो सेण्डिकेट प्रणालीमा शासनसत्ता हातमा लिने परिपाटीको अन्त्य गर्नुुपर्ने बताए । अब पनि उनीहरुकै पछाडि दौडिने वातावरण बन्यो भने फेरी नेपाल सयपछि पछाडि धकेलिने उनले बताए । उनले लाखौं जेनजी समाहित हुने पार्टी नै परिवर्तन पार्टी रहेको र यहि पार्टीका माध्यमबाट मात्र जेनजी आन्दोलनका सहिद र घाइतेका सपना पुरा गर्दै देश समृद्धिको बाटोमा अगाडि बढ्ने पनि बताए । 


हजारौं जेनजीहरुको उपस्थिति रहेको सो कार्यक्रममा सहिदको तर्फबाट विश्व राईले भदौको २३ र २४ गते बगेको रगत आमाबाबाको आँसु, युवाको घाउ र देशप्रतिको माया बोकेर जन्मिएको राष्ट्रिय परिवर्तन पार्टी रहेको बताए । उनले सहिद परिवार, घाइते युवा, देशभरिका सजग नागरिक मिलेर राजनीति र देश सञ्चालनमा देखिएको विकृति र विसंतिको अन्त्य गर्नका निम्ति पार्टीमा समाहित भएको उनले बताए । 

सो कार्यक्रममा सहिदका परिवार तथा घाइतेलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने घोषणापत्रसमेत सार्वजनिक गरिएको थियो । घोषणपत्र सार्वजनिक गर्दै उनीहरुले ७ वटा मुद्दालाई उठाएका छन् । प्रत्यक्ष राष्ट्रपतिय प्रणाली देखि सुशासन र इमान्दार राजनीतिक संस्कारलगायतका ७ वटा मुद्दा उठाएका छन र ति मुद्दाहरु पुरा गर्दै देशमा विकास र समृद्धिको खाका कोर्न कृषि, पर्यटन, खनिज र जलविद्युतको विकास र समृद्धिको पिलर मानेर घोषणापत्रमा उल्लेख गरेका छन् । घोषणपत्र सार्वजनिक भिडियो (एलईडी)को माध्यमबाट गरिएको थियो । 

सो घोषणासभामा घाइते तथा सहिदका परिवारलाई राख्न छुट्टै मञ्चको व्यवस्था गरिएको थियो । जसमा दर्जनौं घाइते तथा सहिदका परिवारहरुको समेत सहभागिता रहेको थियो ।  

कार्यक्रममा दुर्गा प्रसाई, जीवन बस्नेत, उषा लक्ष्मी राई, सिर्जना सुनुवार, अजय राई, दिया बोहोरा, सदिक्षा लुहुनले समेत बोलेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, राष्ट्रिय परिवर्तन पार्टीका केन्द्रीय समितिका पदाधिकारी तथा विभिन्न जिल्ला तहका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । केन्द्रीय महासचिव अञ्जु राईले सो कार्यक्रम सञ्चालन गरेकी थिईन । 


खगेन्द्र कार्की
प्रतिक्रिया