ट्रम्पलाई टक्कर दिन कस्तो छ ह्यारिस को हुन र कसरी टक्कर दिँदैछिन ?

फाष्ट मिडिया नेपाल संवाददाता

अमेरिकी राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने चुनावको दौडबाट पछाडि हटेको घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरे । अमेरिकी इतिहासमा पहिलो अश्वेत र महिला उपराष्ट्रपति बनेर इतिहास रचिसकेकी ह्यारिसले अब रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन सक्छिन् वा सक्दिनन् भन्ने विषयमा बहस सुरु गरेको छ । डेमोक्य्राटिकभित्र उनी सर्वाधिक रुचाइएकी पात्र भए पनि औपचारिक रूपमा उम्मेदवारीको अन्तिम टुंगो लाग्न भने बाँकी नै छ । अर्को महिना डेमोक्य्राटिकको राष्ट्रिय अधिवेशनले आधिकारिक रूपमा पार्टीको उम्मेदवारको टुंगो लगाउनेछ । 

को हुन् ह्यारिस ?

भारतीय मूलकी आमा र जमैकन मूलका पिताकी छोरी ह्यारिस ५९ वर्षअघि क्यालिफोर्नियाको ओकल्यान्डमा जन्मिएकी थिइन् । उनले क्यालिफोर्निया युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कानुनमा डिग्री हासिल गरेकी छिन् । सन् २०१० मा क्यालिफोर्निया राज्यको कानुन प्रवर्तनको शीर्ष भूमिकामा देखिएकी ह्यारिस सन् २०१६ मा अमेरिकी सिनेटमा निर्वाचित भइन् । सन् २०१८ मा सर्वोच्च अदालतका उम्मेदवार ब्रेट काभानाउप्रति उनको आक्रामक प्रश्नले डेमोक्य्राटिक पार्टीको शीर्ष उदाउँदो स्टारमध्ये एक स्टारका रूपमा उनलाई सशक्त बनाउन मद्दत ग¥यो । ह्यारिसले वकिल डग एमहोफसँग विवाह गरिन् । ह्यारिस र एमहफबाट हालसम्म कुनै सन्तान छैनन् ।

ह्यारिसले अभियोजनक करिअरको चर्चा गर्दा आफूलाई एक ‘प्रगतिशील अभियोजक’का रूपमा व्याख्या गरे पनि उनका निर्णय विवाद र आलोचित भएका छन् । उनको कार्यालयले क्यालिफोर्निया जेलहरूमा ठूलो भिडका बाबजुद थप कैदीलाई रिहा गर्न रोक्ने काम ग¥यो । राज्यको महान्यायाधिवक्ताको रूपमा ह्यारिसले क्यालिफोर्नियामा मृत्युदण्डको प्रयोगको पक्षमा मुद्दाको तर्क गरिन्, यद्यपि व्यक्तिगत रूपमा उनी त्यसको विरुद्धमा थिइन् । 

उपराष्ट्रपतिका रूपमा ह्यारिस

ह्यारिसले सन् २०२० को राष्ट्रपति चुनावमा राष्ट्रपतिकै लागि उम्मेदवारी दिएकी थिइन । तर, प्राइमरी सिजनमा भएका बहसमा कमजोर प्रदर्शनपछि उनले उम्मेदवारी त्यागिन । पछि बाइडेन राष्ट्रपति उम्मेदवार हुने पक्का भएपछि उनले ह्यारिसलाई उपराष्ट्रपति रूपमा चयन गरे । ह्यारिसको चयनलाई अश्वेत मतदातालाई आकर्षित गर्ने र पार्टीको आधारलाई बलियो बनाउने प्रयासको रूपमा हेरिएको थियो । 

ह्यारिसको कानुन प्रवर्तनको इतिहास र मध्यमार्गी दृष्टिकोणलाई पनि पुँजीको रूपमा हेरिएको थियो । त्यसले अनिर्णीत मतदातालाई ट्रम्पबाट टाढा लैजाने विश्वास बाइडेनको थियो । तर, सन् २०२२ को बहसमा ह्यारिसले बाइडेनलाई गरेका कठोर प्रश्न भाइरल भएको थियो । त्यस वहसको परिपेक्षमा धेरैले सोचेका थिए कि बाइडेन पार्टीको राष्ट्रपतिय उम्मेदवार बन्ने पक्का भएपछि कमलाको उपराष्ट्रपति बन्ने सम्भावना समाप्त भएको ठानेका थिए । तर त्यसो भएन । 

जर्ज मेसन विश्वविद्यालयका प्राध्यापक जेनिफर भिक्टरले ह्यारिसलाई ‘अत्यन्त सामान्य उपराष्ट्रपति’का रूपमा वर्णन गरे । ह्यारिसले पूर्वाधार कानुन, अध्यागमन, बन्दुक नियन्त्रण र गर्भपतन अधिकारको रक्षा गर्ने प्रयाससहित बाइडेन प्रशासनको नीति कार्यान्वयनमा सहयोग गरेकी छिन् । विशेषगरी ह्यारिसलाई मध्य अमेरिकाबाट बसाइँसराइ रोक्ने प्रयासको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । ‘उपराष्ट्रपतिका रूपमा उनको लोकप्रियता त्यति उच्च छैन । उसो त उनले पर्याप्त प्रेस कभरेज पनि पाइनन्,’ भिक्टरले भने, ‘उनी पछिल्ला केही वर्ष, राजनीतिक बहसमा ध्यानाकर्षण गर्ने गरी अघि आइनन् । तर, हामीले जे देख्दै छौँ, त्यो ठूलो राजनीतिक फड्को हो ।’

त्यस्तै इजरायल–प्यालेस्टाइनको प्रश्नमा ह्यारिसले इजरायलप्रतिको बाइडेन प्रशासनको कठोर समर्थनलाई नै निरन्तरता दिने विश्वास गरिन्छ  । उनले गाजामा युद्धका क्रममा इजरायलको आत्मरक्षाको अधिकारको नियमित रूपमा रक्षा गरेकी छिन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो हप्ता अमेरिका भ्रमण गर्दा उनले भेट्ने तयारीमा छिन् । अझै ह्यारिस मानवीय प्रकोपलाई हाइलाइट गर्ने प्रशासनका अधिक मुखर सदस्यहरू मध्ये एक हुन् । मार्चमा उनी लडाइँमा मानवीय बिरामको लागि आह्वान गर्न ‘युद्धविराम’ शब्द प्रयोग गर्ने प्रशासनको उच्चस्तरीय सदस्य बनिन् ।

ट्रम्पविरुद्ध यस्तो छ स्थिति

अलजजिराका अलन फिसरले वासिंटनबाट रिपोर्टिङ गर्दै भनेका छन् कि बाइडेनले ह्यारिसलाई अनुमोदन गरे भन्दैमा उनले डेमोक्य्राटिक पार्टीबाट समर्थन प्राप्त गर्छिन् भन्ने छैन । जे होस् आगामी अगस्टमा हुने राष्ट्रिय महाधिवेशनले यसको टुंगो लगाउनेछ ।

‘डेमोक्य्राटहरू सिकागोको अधिवेशनमा धेरै विवाद गर्न चाहँदैनन्’ फिसरले भने, ‘यो असम्भव देखिन्छ र त्यसैले तिनीहरू चाँडै कमला ह्यारिसको उम्मेदवारीमा एकताबद्ध हुन सक्छन् र त्यसपछि उपराष्ट्रपति छनोट गर्नेछन्, जसले तिनीहरूलाई अन्य क्षेत्रमा मद्दत गर्नेछ ।’ ट्रम्पविरुद्ध बाइडेनको कमजोर बहस प्रदर्शनपछि लिइएको हालैको सर्वेक्षणले नोभेम्बरमा ट्रम्पलाई हराउन बाइडेनभन्दा ह्यारिसको सम्भावना बढी देखाएको छ । 

उदाहरणका लागि गत हप्ता जारी गरिएको इकोनोमिस्ट÷युगोभ पोलले बाइडेन ट्रम्पसँग ४१ प्रतिशतदेखि ४३ प्रतिशतले हार्ने देखाएको छ । सर्वेक्षणले ह्यारिस ट्रम्पसँग ३९ देखि ४४ प्रतिशतले हार्ने देखाएको छ । ह्यारिस समर्थक बाइडेन दौडबाट बाहिरिएकाले अब यस स्थिति परिवर्तन हुने विश्वास गर्छन् । 

ह्यारिसले आफ्नो करिअरमा धेरै कुरामा रेकर्ड हासिल गरिन् । उनी सान फ्रान्सिस्कोकी जिल्ला न्यायाधिवक्ता, क्यालिफोर्नियाकी महान्यायाधिवक्ता, क्यालिफोर्नियाकी सिनेटर र उपराष्ट्रपति धारण गर्ने पहिलो अश्वेत महिला बनिन् । के उनी देशको पहिलो महिला राष्ट्रपतिको रेकर्ड पनि बनाउन सक्षम होलिन् ? यो कुरा नोभेम्बरमा हुने निर्वाचनअघि ट्रम्पविरुद्ध उनले लिने अडानमा निर्भर हुनेछ ।  

– अलजजिराबाट


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया