इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नामबाट ‘ज्येष्ठ नागरिक’ शब्द हटाएको विरोधमा देशभरका ज्येष्ठ नागरिक आन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपाल केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको हो । सरकारले ज्येष्ठ नागरिकमाथि अन्याय र अपमान गरेको भन्दै महासंघले पहिलो चरणको विरोध कार्यक्रम सुरु गरेको जनाएको छ ।
देशभर करिब ३० लाख ज्येष्ठ नागरिक रहेको उल्लेख गर्दै महासंघले मन्त्रालयको नामबाट आफूहरुको पहिचान हटाइनु दुर्भाग्यपूर्ण भएको बताएको छ । ज्ञापन पत्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको जनसंख्या कम भए पनि मन्त्रालयको नाममा प्राथमिकता दिइएको, तर ठूलो संख्यामा रहेका ज्येष्ठ नागरिकको नाम हटाइएकोप्रति असन्तुष्टि जनाइएको छ ।
यसै क्रममा झापामा ज्येष्ठ नागरिक जिल्ला संघ झापाले जिल्ला प्रशासन कार्यालय चन्द्रगढी पुगेर प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला अध्यक्ष ईश्वरीप्रसाद तिमल्सेनाको नेतृत्वमा पुगेको टोलीमा महासंघका केन्द्रीय सदस्य पंकज दाहाल, जिल्ला सचिव कृष्णप्रसाद फुयाल, भद्रपुर नगर अध्यक्ष हेमप्रसाद खनाल, कनकाई नगर अध्यक्ष शम्भुप्रसाद पोखरेललगायत सहभागी थिए ।
ज्ञापन पत्र बुझाउने क्रममा केन्द्रीय सदस्य दाहालले सरकारको निर्णयले ज्येष्ठ नागरिकको सम्मानमा चोट पुगेको भन्दै मन्त्रालयको नाममा ‘ज्येष्ठ नागरिक’ शब्द पुनःस्थापना गर्न माग गरे । उनले सरकारले निर्णय सच्याएर पुनर्विचार गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी गेलालले ज्येष्ठ नागरिकसम्बन्धी विषयमा केन्द्रमा छलफल भएको जानकारी दिँदै माग प्रधानमन्त्री कार्यालयमा पठाइने बताए । उनले ज्येष्ठ नागरिकसम्बन्धी ऐन तथा नियम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा प्रशासन सकारात्मक रहेको प्रतिक्रिया दिए ।
काठमाडौंमा महासंघ अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय, मन्त्रालयका सचिव राधिका अर्याल तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापन पत्र बुझाएको छ । सातै प्रदेशमा पनि यस्तै विरोध कार्यक्रम सञ्चालन गरिएको महासंघले जनाएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो