मंसिरको संघीय निर्वाचनमा जनताको अभिमतबाट बाहिरिएका उपेन्द्र यादवलाई सत्ता राजनीति छिरायो संसदभवन, बारा २ बाट फराकिलो मतान्तरमा विजयी

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

बारा । गत वर्ष मंसिरमा सम्पन्न संघ तथा प्रदेशको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा सप्तरी २ बाट भाग लिएर सिके राउतसँग हारेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सत्ताको राजनीतिले पुनः संसद भवनमा प्रवेश गर्ने मौका दिएको छ । वैशाख १० भएको उपनिर्वाचनमा बारा २ बाट चुनाव लडेका यादव प्रतिद्वन्द्वी भन्दा ५ हजार बढी फराकिलो मतान्तरले विजय भएका छन् । 

प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादव विजयी बनेका छन् । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार आठ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले दुई हजार सात सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले एक सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले एक सय नौ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाएका छन् ।

बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार आठ सय ८७ जनाले मतदान गरेका थिए । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग पराजित भएका थिए ।

बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । निर्वाचित हुनुभएका जसपा अध्यक्ष यादवलाई गए राति नै मुख्य निर्वाचन अधिकृत उपाध्यायले प्रमाणपत्र वितरण गरेका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया